
काभ्रेपलान्चोक । स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकस्थित प्राथमिक स्वास्थ्य केन्द्रले आजदेखि बीमाअन्तर्गत सेवा सुरु गरेको छ । यससँगै जिल्लामा बिमाको सेवा दिने सरकारी स्वास्थ्य संस्थाको संख्या आठ पुगेको छ ।
स्वास्थ्य केन्द्र प्रमुख कोपिला कार्कीका अनुसार केन्द्रलाई आधारभूत अस्पतालका रूपमा स्तरवृद्धि गर्न आवश्यक जनशक्ति र भौतिक संरचना निर्माणको तयारी भइरहेको छ । यसअघि जनशक्ति अभावका कारण सेवा सञ्चालन गर्न नसकेको पाँचखाल नगरपालिकाले आवश्यक व्यवस्थापन पूरा गरेर आजदेखि नियमित सेवा औपचारिक रूपमा सुरु गरेको हो ।
यसअघि बनेपा नगरपालिकाद्वारा सञ्चालित बनेपा आधारभूत अस्पताल र मण्डनदेउपुर नगरको आधारभूत अस्पतालले भदौदेखि बीमाअन्तर्गत सेवा प्रारम्भ गरिसकेका छन् । त्यस्तै, सुन्थान, खोपासी, पाँचखाल, धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र र मेथिनकोट प्रादेशिक अस्पतालले समेत स्वीकृति प्राप्त गरिसकेका थिए ।
धुलिखेल नगरले भने आफ्नै स्वास्थ्य केन्द्रको पूर्वाधार र जनशक्ति अभावका कारण सेवा दिन ढिलाइ गर्दै आएको भए पनि गत साउन २६ गतेदेखि धुलिखेल अस्पताल परिसरबाट बीमाको ‘रिफरल’ सेवा सुरु गरेको छ । यसमार्फत बिरामीले चिकित्सक, नर्स तथा औषधिसहित स्वास्थ्य बिमा सेवा पाउन थालेका छन् ।
गत साउन १ देखि सरकारले सरकारी स्वास्थ्य संस्था नै स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दु हुने प्रावधान लागू गरेको हो । विसं २०७६ मङ्सिर १ गतेदेखि सूचीभूत मेथिनकोट अस्पताल, प्रा.स्वा.के धुलिखेल, सुन्थान, खोपासी र पाँचखालमध्ये नियम लागू हुँदा प्रारम्भमा मेथिनकोट, सुन्थान र खोपासी मात्र सेवा दिइरहेका थिए ।





