
कञ्चनपुर । एक समय जंगलका गिठा, तरुल, कन्दमूल र काठका भाँडाकुँडामा निर्भर रहने राउटे समुदाय अहिले क्रमशः समाजमा घुलमिल हुन थालेका छन् । जंगलमा बस्दा काठका सामग्री बनाएर जीवनयापन गर्ने उनीहरू अहिले सामाजिक सुरक्षा भत्तामा भर पर्न बाध्य भएका छन् ।
भीमदत्त नगरपालिका–९ टुँडिखेलका बडसिंह राउटे भन्छन्, “सरकारले हामीलाई जंगलबाट बस्तीमा ल्यायो । मासिक रूपमा भत्ता दिन्छ, तर सीपअनुसार काम नपाएपछि त्यही भत्तामै गुजारा गर्नुपरेको छ ।” उनका अनुसार जंगलमा काठ ल्याउन नपाएपछि परम्परागत पेसा निरन्तरता दिन नसकिएको हो ।
राउटेहरूले भत्ता पाए पनि रोजगार अभावले कठिनाइ भोगिरहेका छन् । “हाम्रा छोराछोरी पढेलेखेका छैनन्, सरकारले रोजगारीको व्यवस्था गरिदिनुपर्छ । तीन महिनामा रु चार हजार मात्र भत्ता आउँछ, त्यसले खानपिन पुग्दैन,” बडसिंहको गुनासो छ ।
यस्तै, किरीदेवी राउटेले भन्छिन्, “हामी समाजमा घुलमिल भएका छौँ, तर रोजगारी नहुँदा समस्या छ । भत्ताले दैनिकी चलाउन गाह्रो भएपछि छोरा रोजगारीका लागि भारत गएको छ ।” उनी समुदायमा बस्न थालेपछि जीवन सजिलो लागेको तर आयआर्जनका विकल्प नभएकाले समस्या चुलिएको बताउँछिन् ।
दार्चुलाको लाली, डडेल्धुराको जोगबुढा हुँदै कञ्चनपुरको टुँडिखेलमा बसाइ सरेका राउटेहरू परम्परागत पेसाको विकल्प खोजिरहेका छन् । “हाम्रो पुर्खाको सीपले अहिले गुजारा गर्न गाह्रो छ । गाउँघरमा पाइयो भने मजदुरी गर्छौं । सरकारले अहिलेको समय सुहाउँदो सीप सिकाएर आत्मनिर्भर बनाउनुपर्छ,” अनिता राउटेले भनिन् ।
कञ्चनपुरमा करिब पाँच लाख जनसङ्ख्यामा तीन मात्र राउटे परिवार बसोबास गर्छन् । जंगलमा अन्नसँग साटेर गुजारा गर्ने उनीहरू अहिले सरकारको भत्ताले खाद्यान्न किनेर जीवनयापन गर्छन् । पछिल्लो समय स्थानीय चाडपर्वमा समेत उनीहरूको सक्रिय सहभागिता हुन थालेको छ ।





