
पर्सा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा वीरगञ्ज नाका हुँदै रु २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यस अवधिमा डिजेल, पेट्रोल, एलपी ग्यास, एटिएफ (एभिएसन टर्बाइन फ्युल) र मट्टितेल भित्रिएको हो ।
गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष रु एक अर्ब ७६ करोड बढीको पेट्रोलियम पदार्थ आयात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । आयात बढेसँगै राजस्व संकलन पनि बढेर रु एक अर्ब २९ करोडले वृद्धि भएको छ ।
भन्सार प्रमुख ज्ञवालीका अनुसार वीरगञ्ज भन्सारको राजस्वको मुख्य स्रोत पेट्रोलियम पदार्थ र सवारीसाधन आयात हो । गत वर्षको दुई महिनामा पेट्रोलियम पदार्थबाट रु नौ अर्ब ८९ करोड राजस्व संकलन भएकोमा चालु वर्षको सोही अवधिमा रु ११ अर्ब १८ करोड संकलन भएको छ ।
बिस्तृत विवरण अनुसार,
- चालु आवमा रु ११ अर्ब ९१ करोड बराबरको एक लाख ३२ हजार ८२४ किलोलिटर डिजेल आयात भई रु पाँच अर्ब २८ करोड राजस्व संकलन भएको छ । गत वर्ष सोही अवधिमा रु १० अर्ब ४५ करोड बराबरको डिजेल आयात हुँदा रु चार अर्ब ५१ करोड राजस्व संकलन भएको थियो ।
- पेट्रोलतर्फ रु ६ अर्ब ८२ करोड बराबरको ८० हजार ५६० किलोलिटर आयात भई रु चार अर्ब ५४ करोड राजस्व संकलन भएको छ । गत वर्ष सोही अवधिमा रु ६ अर्ब ४० करोड बराबरको ६९ हजार ६४७ किलोलिटर पेट्रोल आयात हुँदा रु तीन अर्ब ९९ करोड संकलन भएको थियो ।
- एलपी ग्यासतर्फ चालु वर्षमा रु पाँच अर्ब १२ करोड बराबरको चार करोड ९५ लाख ६६ हजार ६६४ किलो आयात भई रु ९६ करोड राजस्व संकलन भएको छ । गत वर्ष सोही अवधिमा रु पाँच अर्ब ३६ करोड बराबरको चार करोड ९७ लाख ५५ हजार १९४ किलो आयात हुँदा रु एक अर्ब राजस्व संकलन भएको थियो ।





