
काठमाडौँ । बडादसैँको अवसरमा पवित्र धार्मिक स्थल पशुपति क्षेत्रमा सोमबारदेखि अठारौँ नवरात्री महामहोत्सव सुरु भएको छ । श्रीमा दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद्ले आयोजना गरेको महोत्सव असोज १६ गतेसम्म चल्नेछ ।
महोत्सवमा देवी भागवत प्रवचनसहित भजन–कृतन हुनेछन् । उद्घाटन गर्दै परिषद्का अध्यक्ष रामशोभित नायकले पशुपति क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा प्रवर्द्धन गर्न र धार्मिक सहिष्णुता अभिवृद्धि गर्न महोत्सव उपयोगी हुने बताए ।
महोत्सव प्रारम्भअघि गुहेश्वरीदेखि बागमतीसम्म कलशयात्रा निकालिएको थियो भने उद्घाटन समारोहमा विशेष महाआरती गरिएको थियो । प्रत्येक दिन दुर्गा माताको प्रवचन, आरती र भजन कार्यक्रम हुने जनाइएको छ ।
यसैबीच घटस्थापना सुरु भएसँगै देशभरका नवदुर्गा मन्दिरहरूलाई रङरोगन गरी सजाइएका छन् । गाउँघरदेखि सहर बजारसम्म घर पोत्ने, सरसफाइ गर्ने र मन्दिर क्षेत्र झकिझकाउ बनाउने काम तीव्र रूपमा भइरहेको छ ।
सोमबार घटस्थापनाको दिन काठमाडौँको मैतिदेवी मन्दिरलाई विभिन्न बत्तीले सजाइएको थियो । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीमा मनाइने महानवमी पर्वमा नवदुर्गा भगवतीको विशेष पूजा गरिन्छ । मार्कण्डेय पुराणअनुसार यही दिन चामुण्डा देवीले रक्तबीज राक्षसको बध गरेकाले महानवमीलाई विशेष महत्त्व दिइन्छ ।
नवरात्रको अन्तिम दिन देशभरका शक्तिपीठमा लाखौँ भक्तजन पूजाआराधना र दर्शनका लागि उपस्थित हुने गर्छन् । आश्विन शुक्ल प्रतिपदादेखि राखिएको जमरा रहेको पूजा कोठामा अन्तिम दिन देवी सिद्धिदात्रीको विशेष पूजा गरिन्छ ।





