जेनजी प्रदर्शनपछि २२ अर्ब २५ करोड बराबरको बिमा दाबी, सबैभन्दा बढी बागमती प्रदेशमा |



काठमाडौँ । जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा भएको क्षतिको बिमा दाबीको रकम रु २२ अर्ब २५ करोड ६५ लाख पुगेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार प्रदेशगत आधारमा सबैभन्दा बढी दाबी बागमती प्रदेशमा परेको छ, जहाँ मात्र रु १७ अर्ब ९७ करोड ७२ लाख बराबरको दाबी दर्ता भएको छ ।

प्राधिकरणले देशभर कूल २,४७८ वटा बिमा दाबीका आवेदन परेको जनाएको छ । तीमध्ये १८ वटा बिमा कम्पनीमा, जसमा माइक्रो इन्स्योरेन्स कम्पनीहरू पनि समावेश छन्, दाबी दर्ता भएका हुन् । बागमती प्रदेशमा मात्र १,३४३ वटा दाबी दर्ता भएको प्राधिकरणले जनाएको छ ।

गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा आगजनी र तोडफोडका घटना भएका थिए । प्राधिकरणका अनुसार ती निजी सम्पत्तिमा भएको क्षतिको आधारमा बिमा दाबी परेको हो ।

उपलब्ध विवरणअनुसार, ओरियन्टल इन्स्योरेन्स कम्पनीमा मात्रै रु ५ अर्ब २२ करोड ९८ लाख बराबरको दाबी दर्ता भएको छ भने सिद्धार्थ इन्स्योरेन्समा रु ५ अर्ब ८ करोड २८ लाख बराबरको दाबी परेको छ ।

सम्पत्ति बिमा ५३८, मोटर बिमा १,७७८, इन्जिनियरिङ तथा ठेकेदार जोखिमका १३२, परिवहन बिमा ११ र अन्य १९ वटा दाबी दर्ता भएका छन् । प्रदेशगत विवरणअनुसार, कोशीमा ३२२, मधेसमा २४६, बागमतीमा १,३४३, गण्डकीमा १८४, लुम्बिनीमा २०२, कर्णालीमा २२ र सुदूरपश्चिममा १५९ वटा बिमा दाबी दर्ता भएका छन् ।

प्राधिकरणका अनुसार ठूलो मात्रामा भौतिक क्षति भएकाले दाबी रकम अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्