तातोपानी र केरुङ नाका बन्द, दसैँको सामान अभाव |



काठमाडौँ । नेपाल–चीनलाई जोड्ने सिन्धुपाल्चोकस्थित तातोपानी र रसुवागढीको केरुङ नाका बन्द हुँदा दसैँको सामान बिक्रीमा समस्या देखिएको व्यापारीहरूले बताएका छन् ।

वर्षात्को प्रभावमा प्रमुख दुई नाका अवरुद्ध भएपछि हजारौँ कन्टेनरमा ल्याइएका सामग्री सिमानामा रोकिएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष कुमार कार्कीका अनुसार असार २४ गते आएको बाढीले मितेरी खोलाको पुल बगाएपछि पासाङल्हामु राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । यसैगरी, तातोपानीतर्फ पनि पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध हुँदा नाका खुलेको छैन ।

राष्ट्रिय व्यापार सङ्घका पूर्वअध्यक्ष सरोज श्रेष्ठका अनुसार तातोपानीमा झन्डै ३ हजार र केरुङमा करिब १ हजार ५०० कन्टेनर सामानसहित रोकिएका छन् । विशेष गरी लत्ताकपडा र कच्चा पदार्थ नआउँदा उद्योगी–व्यवसायी मर्कामा परेको उनको भनाइ छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठले दसैँ नजिकिँदै गर्दा बाटो बन्द रहँदा व्यापारीहरूको चिन्ता बढेको बताए । “नाकाबाट समयमा सामान ल्याउन नसक्दा बजारमा अभाव र मूल्यवृद्धि दुवै भएको छ,” उनले भने ।

समान आपूर्ति नहुँदा ग्राहक पनि मारमा परेका छन् । काठमाडौँकी हीराकाजी महर्जनले गत वर्षभन्दा यस वर्ष लत्ताकपडा महँगो भएको बताइन् । दसैँअघि महाबौद्ध, असन, न्युरोड, कलङ्की, चाबहिल, कोटेश्वर, बानेश्वरलगायतका बजारमा किनमेल गर्ने भीड हुने गरे पनि यसपटक मूल्यवृद्धिले ग्राहकलाई गुनासो बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्