विद्युत् लाइन काटेर रु एक करोडभन्दा बढी बक्यौता असुली |



तनहुँ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले बक्यौता असुलीका लागि विद्युत् लाइन काट्ने अभियान चलाई आर्थिक वर्ष २०८१/८२ मा रु एक करोड २७ लाखभन्दा बढी उठाएको छ।

उक्त अवधिमा एक हजार ५२ सेवाग्राहीको लाइन काटिएकोमा सात सय आठ जनाले बक्यौता तिरेर पुनः जडान गरेका छन्। तर अझै रु ६६ लाख २७ हजारभन्दा बढी उठ्न बाँकी रहेको केन्द्र प्रमुख विजयराज रेग्मीले जानकारी दिए।

यसअघि २०८०/८१ मा एक हजार ४३६ जनाको लाइन काटेर रु दुई करोड ६८ लाखभन्दा बढी उठाइएको थियो। त्यसबेला एक हजार २७३ जनाको लाइन पुनः जडान गरिएको थियो भने करिब तीन करोड ५० लाख बराबरको बक्यौता बाँकी थियो।

केन्द्रका अनुसार आव २०८१/८२ मा पाँच करोड ३६ लाख युनिट विद्युत् बिक्री भई रु ५९ करोड ५८ लाखभन्दा बढी आम्दानी भएको छ। यसअघि २०८०/८१ मा पाँच करोड ४० लाख युनिट बिक्री भई करिब रु ५४ करोड आम्दानी भएको थियो। विद्युत् बिक्रीमा ०.८४ प्रतिशत कमी देखिएको छ।

चार्जिङ स्टेसनका १४ ग्राहकलाई सात लाख एक हजारभन्दा बढी युनिट विद्युत् बिक्री गरिएको छ, जसबाट रु ५३ लाख ३३ हजार आम्दानी भएको छ।

एक वर्षमा दुई हजार ५०३ नयाँ सेवाग्राही थपिएपछि तनहुँमा कुल ग्राहक संख्या ५३ हजार नाघेको रेग्मीले बताए। थपिएका ग्राहकमध्ये दुई हजार २५६ घरेलु, ३१ व्यापारिक, ३७ गैरव्यापारिक, ३७ औद्योगिक, १० यातायात (इभी), ४१ खानेपानी, २६ सिँचाइ, १६ धार्मिक तथा सांस्कृतिक, १४ अस्थायी र ३५ सडक बत्तीका छन्।

हाल तनहुँ वितरण केन्द्रको क्षेत्रमा घरेलु ५१ हजार ७५, व्यापारिक ३५५, गैरव्यापारिक ५६७, औद्योगिक ७८१, यातायात (इभी) ११, खानेपानी २३२, सिँचाइ ३८२, धार्मिक तथा सांस्कृतिक २१९, अस्थायी १६, सडक बत्ती २०८, सामुदायिक १ र आन्तरिक १३ गरी कुल सेवाग्राही संख्या ५३ हजारभन्दा बढी पुगेको छ।

प्रतिक्रिया दिनुहोस्