
मुस्ताङ । घरपझोङ–२, मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा स्याउ ‘टिप्ने खाने’ मेला सुरु गरिएको छ । असोज १ गतेदेखि एक सातासम्म सञ्चालन हुने उक्त मेलाबारे केन्द्रका प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिएका छन् ।
कृषि तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको मेलामा गत वर्षझैँ यसपालि पनि बगैँचामै स्याउ टिप्ने र खाने व्यवस्था गरिएको छ । असोज महिनामा बढ्ने पर्यटकलाई लक्षित गर्दै यसलाई वार्षिक उत्सवका रूपमा आयोजना गर्न थालिएको आत्रेयले बताए । उनका अनुसार मुक्तिनाथ दर्शन र कागबेनीधाममा धार्मिक अनुष्ठान गर्न आउने भक्तजनसँगै मुस्ताङ भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो । तर, देशमा उत्पन्न विपरीत परिस्थितिका कारण यसपटक पर्यटकको उपस्थिति कम रहेको उनले बताए ।
मेलामा सहभागी हुन चाहने पर्यटकले रु २०० को टिकट लिएर बगैँचामा पस्न पाउने छन् । स्याउ टिप्दा विशेष सावधानी अपनाउनुपर्नेछ । बोटमा क्षति पुर्याएमा सम्बन्धित व्यक्तिले रु १,००० जरिवाना तिर्नुपर्ने नियम केन्द्रले तोकेको जनाएको छ ।





