चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गो स्थापना |



जुम्ला । कर्णालीको सांस्कृतिक धरोहर मानिने चन्दननाथ र भैरवनाथ मन्दिरमा यस वर्षको नयाँ लिङ्गो घटस्थापनाको दिन पारेर आज स्थापना गरिएको छ । सदरमुकाम खलङ्गा बजारस्थित मन्दिरमा ५२ हातको लिङ्गो ठड्याइएको चन्दननाथ–भैरवनाथ मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए ।

हरेक वर्ष घटस्थापनाका दिन लिङ्गो फेर्ने परम्पराअनुसार यस वर्ष पनि नयाँ लिङ्गो स्थापना गरिएको हो । जुम्लावासीले आफ्नै घरमा घटस्थापना गर्नुभन्दा पहिले मन्दिरमा लिङ्गो ठड्याउने चलन रहेको छ । चन्दननाथ मन्दिरमा ५२ हाते लिङ्गो र ध्वजा, भैरवनाथ मन्दिरमा भने ४८ हाते लिङ्गो र ध्वजा राख्ने प्रथा रहँदै आएको छ ।

वर्षमा ५२ हप्ता हुने भएकाले वर्षभरि चन्दननाथ–भैरवनाथको संरक्षण रहोस् भन्ने विश्वाससहित ५२ हात लामो लिङ्गो र ध्वजा राख्ने गरिएको समितिका अध्यक्ष थापाले बताए । स्थानीयहरूले सोही मन्दिरको माटो घरमा लिएर जमरा राख्ने परम्परा पनि छ, जसअन्तर्गत कृषिमा समृद्धि र भोकमरी नहोस् भन्ने कामना गरिन्छ ।

लिङ्गो स्थापना भएपछि मन्दिरमा मार्सीधानको सिक चढाउने चलन छ, जसले धानको उत्पादन वृद्धि र किसानमा उत्साह ल्याउने विश्वास गरिन्छ । दशक अघिसम्म यो अवसरमा कर्णालीका विभिन्न जिल्लाबाट मन्दिरका लागि धार्मिक सामग्री पठाउने परम्परा पनि थियो । जुम्लाबाट अन्न र पैसा, कालिकोटबाट बाबियो, घिउ र मह, हुम्लाबाट ठेटुवा, चौँरी फुर्को र थाप्का, मुगुबाट मास, मुगी दाल र राडीपाखी ल्याइने गर्थियो ।

तर अहिले त्यो परम्परा हराउँदै गएको गुठी समितिका कार्यालय प्रमुख रत्नप्रसाद आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्