
तनहुँ। व्यास नगरपालिका–१ मा पहिरोले पाइप बगाउँदा खानेपानी वितरण चार दिनदेखि अवरुद्ध भएको छ। व्यास–१३ अन्तर्गत खिरखादी मुहान नजिकै माथिबाट आएको पहिरोले करिब ४० मिटर जिआइ पाइप बगाउँदा पानी आपूर्ति प्रभावित भएको हो।
भादगाउँ खानेपानी तथा उपभोक्ता समितिका व्यवस्थापक ईश्वर श्रेष्ठका अनुसार, करिब १३ किलोमिटर टाढाबाट पानी ल्याएर उपभोक्तालाई वितरण गर्दै आएको भए पनि गत भदौ ३१ देखि असोज ३ गतेसम्म परेको अविरल वर्षाले पाइपमा क्षति पुर्याएपछि आपूर्ति कठिन बनेको छ। पानी वितरण सहज बनाउन प्राविधिकसहित जनशक्ति परिचालन गरिएको उनले बताए।
संस्थाले छाब्दी मुहान, छाब्दी खोलामा दुई वटा लिफ्ट र खिरखादी गरी चारवटा साना योजनाबाट पानी सङ्कलन गरी व्यास–१ र १२ का दुई हजार ६८० घरमा वितरण गर्दै आएको छ। लामो दूरी, भौगोलिक विकटता, जनशक्ति अभाव, प्रतिकूल मौसम र वर्षायामको समयमा बाढी–पहिरोका कारण पानी आपूर्ति समय समयमा अवरुद्ध हुने गरेको छ।
समितिका अनुसार, चार योजनाबाट प्रतिसेकेन्ड १५ लिटर पानी ट्याङ्कीमा सङ्कलन गरी उपभोक्तालाई वितरण भइरहेको छ। बस्ती विस्तारसँगै पानीको अभाव बढेपछि सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा मादीनदी लिफ्ट खानेपानी आयोजना निर्माण भइरहेको छ। रु १९ करोड लागतको यो आयोजना हाल ७० प्रतिशत प्रगतिमा छ।
संस्थाका अध्यक्ष चिजबहादुर दराले जानकारी दिए, “निर्माणका लागि ठेक्का पाएको पराजुली कन्स्ट्रक्सनले विसं २०८० भदौभित्र आयोजना सम्पन्न गर्ने सम्झौता गरेको भए पनि काम अझै पूरा भएको छैन। अमिलीभञ्ज्याङमा चार लाख लिटर क्षमताको मुख्य रिजर्भ ट्याङ्की निर्माण भइसकेको छ भने गार्ड हाउस र फिल्टर मिडियाको काम भइरहेको छ।”





