
काठमाडौँ । दसैँ चाडपर्व मनाउन राजधानी काठमाडौँबाट पछिल्ला पाँच दिनमै एक लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ देखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक सवारीमार्फत ती यात्रुहरू उपत्यकाबाट निस्किएका हुन् ।
कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले अध्ययन, रोजगारी तथा व्यवसायका लागि राजधानीमा बसोबास गर्नेहरू दसैँ मनाउन आ–आफ्नो घर फर्किन थालेको बताए । उनका अनुसार यात्रुहरू मुख्यत: थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट बाहिरिएका छन् ।
पाँच दिनमा उपत्यकाबाट बाहिरिने यात्रुको तथ्याङ्क यसप्रकार छ: असोज १ गते ३४ हजार ५५६, असोज २ गते ३६ हजार १००, असोज ३ गते ४० हजार ५५५, असोज ४ गते ३४ हजार ८७९ र असोज ५ गते ४३ हजार १२४ जना ।
यसवर्ष सडकको खराब अवस्थाले यात्रुहरूलाई यात्रा गर्न कठिनाइ भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार बर्खामा पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा यात्रु र सवारी दुबैलाई समस्या परेको हो । ‘मुग्लिङ–नारायणघाट सडकखण्डमा पहिरोका कारण बस घण्टौँसम्म रोकिँदा यात्रु गन्तव्यमा समयमै पुग्न सक्दैनन्’, उनले बताए । साथै उनले अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन सरकारलाई आग्रह गरे ।
यसैबीच, गोङ्गबुस्थित राष्ट्रिय बसपार्कमा दसैँमा घर फर्किने यात्रुको चाप बढ्दै गएको छ । बसपार्क सञ्चालनकर्ता लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लका अनुसार अन्य समयमा दैनिक ४–५ हजार यात्रु बसपार्क प्रयोग गर्ने गरेकोमा हाल यो सङ्ख्या बढेर दैनिक १५ हजारभन्दा माथि पुगेको छ ।





