
भक्तपुर । भक्तपुरको तलेजु भवानीलाई मूलघरबाट दसैँघरमा भित्र्याएसँगै दसैँ पर्वको औपचारिक सुरुवात गरिएको छ । आज शुभसाइतमा तलेजु भवानीलाई मूलघरबाट दसैँघरमा भित्र्याइएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।
परम्पराअनुसार घटस्थापनादेखि विजयादशमीसम्म तलेजुलाई दसैँघरमा राखेर विशेष पूजा गरिन्छ । साथै सप्तमीदेखि महानवमीसम्म तलेजुमा ५४ वटा बोका, ३२ वटा राँगा र २४ वटा हाँस बलि दिने चलन छ । जात्राका अवसरमा तलेजुका मूल पुरोहितले मांसाहुती होम सम्पन्न गरेपछि मात्र बलि दिने परम्परा रहेको छ ।
यस्तै, घरघरमा जमरा नराख्नेहरूका लागि भक्तपुरकै मध्यपुरथिमि नगरपालिका–५, राधेराधेस्थित सङ्गम कोलोनीमा आज सामूहिक जमरा राखिएको छ । सङ्गमेश्वर महादेव मन्दिरमा स्थानीयवासीका लागि विधिपूर्वक घटस्थापना गरी सामूहिक जमरा राखिएको समितिका अध्यक्ष मोहनवरसिंह प्रधानले जानकारी दिए ।
उनका अनुसार सामूहिक जमरा राख्ने परम्परा सुरु भएपछि घरघरमा जमरा नराख्नेहरूलाई सहज भएको छ । विजयादशमीका दिन त्यही जमरालाई घरमा ल्याई टीका ग्रहण गर्ने परम्परा रहेको उनले बताए ।





