
गोरखा । वडादसैँ (नवरात्र) प्रारम्भसँगै आज गोरखा दरबारको दसैँघरमा परम्परागत विधिअनुसार जमरा राखिएको छ । बिहान ९ बजेर १३ मिनेटको शुभसाइतमा मूलदरबारस्थित दसैँघर, कालिका मन्दिर, गोरखनाथ मन्दिर र उपल्लो दरबारमा जमरा राखिएको गोरखकाली मन्दिरका मूलपूजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए ।
परम्पराअनुसार बिहान कैलास कोठाबाट देवी भगवतीलाई दरबारको गर्भगृहमा स्थापित गरेपछि पानीको घडा थापेर जमरा राख्ने प्रक्रिया सुरु गरिएको थियो । त्यसअघि कालिका मन्दिरको पटाङगिनीमा देवीको पूजामा प्रयोग हुने भाँडावर्तन शुद्धीकरण र शैलपुत्री पूजाका लागि आवश्यक सामग्री तयारी गर्ने काम गरिएको थियो ।
भट्टराईका अनुसार गोरखा दरबारको दसैँघर र कालिका मन्दिरमा एक–एक पाथी जौँको जमरा राखिएको छ भने गोरखनाथ मन्दिरमा चार माना र उपल्लो तथा तल्लो कोटमा एक–एक माना जौँ राखिएको छ ।
मान्यता अनुसार गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दूहरूले घर–घरमा जमरा राख्ने चलन रहिआएको छ । प्रतिपदा प्रारम्भसँगै कालिका मन्दिरमा नियमित बलि दिने परम्परा पनि सुरु भएको छ ।
यस्तै, गोरखाको अर्को प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पनि आज बिहानको शुभसाइतमा जमरा राखिएको मूलपूजारी इन्सान थापाले जानकारी दिए । धार्मिक विश्वासअनुसार घटस्थापनामा राखिएको जमरा विजयादशमीका दिन टीकासँगै प्रयोग गर्दा शुभ हुने मान्यता रहिआएको छ ।





