मुग्लिङ–नारायणगढ सडक एकतर्फी सञ्चालनमा |



भरतपुर । लगातार पहिरोका कारण अवरुद्ध भएको मुग्लिङ–नारायणगढ सडक आज बिहानदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा बारम्बार पहिरो खसिरहेकाले आइतबार राति ९ बजेदेखि सोमबार बिहान ५ बजेसम्म यातायात पूर्ण रूपमा बन्द गरिएको थियो। शुक्रबार साँझदेखि अवरुद्ध बनेको सडक आइतबार दिउँसो अबेर मात्र सञ्चालनमा ल्याइएको भए पनि सोमबार राति ८ बजे पुनः पहिरो खसेपछि रातिनै सफाइ गरेर आज बिहानदेखि एकतर्फी यातायात सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए।

सवारीको अत्यधिक चाप रहेकाले यात्रुहरूलाई आफ्नो लेनमै चल्न आग्रह गरिएको प्रहरी निरीक्षक सिंहले बताए। दुई दिनदेखि सडकमा रोकिएका यात्रुहरू गन्तव्यतर्फ अघि बढ्न थालेका छन्।

दैनिक १० हजारभन्दा बढी सवारीसाधन गुड्ने यो महत्वपूर्ण सडकखण्ड दुईतर्फी सञ्चालन नहुञ्जेल वैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्