पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा |



पर्वत । फलेवास नगरपालिका–८, ठानामौला खाल्टेमा शनिबार राति भीषण वर्षापछि गएको पहिरोले छ वटा घर पूर्ण रूपमा भत्किएका छन् भने थप दस घर उच्च जोखिममा परेका छन्।

वडाध्यक्ष मनबहादुर कुँवरका अनुसार मीनबहादुर नेपाली, नन्दकुमारी भण्डारी, डिलबहादुर गुरुङ, अस्मिता सार्की, लक्ष्मी परियार र अर्को एक रित्तो घरसहित गोठ पहिरोले भत्काइदिएको हो। पहिरो जानुअघि नै स्थानीयले सुरक्षित स्थानमा सरेका कारण मानवीय वा पशुचौपायाको क्षति भने भएको छैन। जमिनमा चिरा देखिएपछि उनीहरूले समयमै सावधानी अपनाएका थिए।

विस्थापित परिवारलाई नजिकैको जनज्योति माध्यमिक विद्यालयको खेल मैदानमा टेन्ट टाँगेर राखिएको जिल्ला प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए। जिल्ला विपद् व्यवस्थापन समिति, नगरप्रमुख गङ्गाधर तिवारी र उपप्रमुख शोभा क्षेत्रीसहितको टोलीले घटनास्थल निरीक्षण गरेको छ।

नगरप्रमुख तिवारीका अनुसार विस्थापितलाई अस्थायी बसोबासका लागि पाँच वटा टेन्ट उपलब्ध गराइएको छ। साथै, सुरक्षित स्थानमा पुनर्स्थापना र आवास निर्माणका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत आवश्यक पहल गरिने उनले बताए।

प्रतिक्रिया दिनुहोस्