
कञ्चनपुर । सुगम जिल्ला भनेर परिचित कञ्चनपुरकै भित्र पर्छ — आधारभूत सुविधाविहीन खल्ला मसेट्टी बस्ती ।
सदरमुकाम महेन्द्रनगरदेखि करिब २० किलोमिटर उत्तरतर्फ रहेको यो गाउँसम्म पुग्न अझै पक्की सडक बनेको छैन । कच्ची, जोखिमपूर्ण बाटो पार गरेपछि मात्रै यहाँ पुग्न सकिन्छ । स्वास्थ्य, शिक्षा, खानेपानी र बिजुली जस्ता सुविधा नहुँदा यहाँको दैनिकी कष्टकर छ ।
२०६५ सालमा डडेल्धुराको जोगबुढाबाट बसाइँ सरेर आएका लोकबहादुर थापा मगर भोगाइ सुनाउँदै भन्छन्, “मुख्य समस्या सडक हो । बालबालिका दुई घण्टा पैदल हिंडेर मात्र विद्यालय पुग्छन् । बिरामी हुँदा उपचारका लागि निकै समस्या हुन्छ ।”
गाउँमा माध्यमिक तहसम्म विद्यालय नहुँदा धेरै बालबालिकाले पढाइ बीचमै छाडेर भारत जाने गरेको स्थानीयको भनाइ छ । ब्रह्मदेवसम्मको करिब १३ किलोमिटर सडक भने व्यवस्थित भए पनि त्यसपछिको बाटो निकै कठिन छ । “वर्षातमा त बाटो नै बन्द हुन्छ, बिरामीलाई अस्पताल पुर्याउनै मुस्किल पर्छ । विजुली र खानेपानीको सुविधा अझै पाइएन,” स्थानीय लीला पुन मगर बताउँछिन् ।
खानेपानी योजना सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै सम्पन्न हुन सकेको छैन । करिब ६ सय जनसङ्ख्या रहेको यस बस्तीमा आधारभूत तहको विद्यालयबाहेक अरू कुनै सुविधा छैन । ब्रह्मदेवमा पढ्न जान आठ किलोमिटर पैदल हिंड्नुपर्ने बाध्यता छ भने एम्बुलेन्स समेत गाउँसम्म आउन सक्दैन ।
“दशकौं बित्यो, पक्की सडक बन्ला र गाडी गुड्ला भन्ने आशामा,” धनगिरी चुनारा भन्छन्, “स्वास्थ्य चौकी नभएकाले बिरामीलाई बोकेरै बजारसम्म लैजानुपर्छ ।” खेतीपातीमा पनि सिँचाइको समस्या छ ।
वडा कार्यालय ब्रह्मदेवमा भएकाले स्थानीयले सरकारी सेवा लिन सहज छैनन् । रेखा विक भन्छिन्, “गाउँगाउँमा सिंहदरबार आयो भनिन्छ, तर हामीले एउटा सिफारिसका लागि समेत दुई घण्टा हिंड्नुपर्छ । आधारभूत सुविधा पाउनै मुस्किल छ ।”





