बाँकेका तीन सरकारी कार्यालय ‘रेड जोन’ मा, वैकल्पिक स्थानमा सेवा दिन सुझाव



नेपालगन्ज । बाँकेको कोहलपुर र नेपालगन्जस्थित तीन सरकारी कार्यालय प्रयोग अयोग्य अवस्थामा पुगेका छन् । प्राविधिक अध्ययनपछि सहरी विकास तथा भवन कार्यालयले ती कार्यालयलाई ‘रेड जोन’ मा राख्दै त्यहाँबाट सेवा प्रवाह असम्भव भएको जनाएको हो ।

कार्यालय प्रमुख श्रीराम आश्रय शाहका अनुसार ‘जेनजी’ प्रदर्शनका क्रममा कोहलपुरमा रहेको एक कार्यालय र नेपालगन्जका दुई कार्यालयलाई पूर्ण जोखिमयुक्त ठहर गरिएको छ । उनले बाँके र बर्दियाका प्रदेश संरचना भने सुरक्षित रहेको स्पष्ट पारे । तर, संघीय संरचनामध्ये आन्तरिक राजस्व कार्यालय र भूमिसुधार तथा मालपोत कार्यालयको भवन क्षतिग्रस्त भएकाले प्रवेश निषेध गरिएको छ ।

शाहले भने, “रेड जोनमा रहेका कार्यालयबाट सेवा दिन सम्भव छैन । त्यसैले वैकल्पिक स्थान प्रयोग गर्न सुझाव दिएका छौँ ।” उनका अनुसार बाँकी सात कार्यालयलाई ‘एलो जोन’मा राखिएको छ, जसलाई आवश्यक मर्मतपछि पुनः प्रयोग गर्न सकिनेछ । यस्तै, ‘ग्रिन जोन’मा सूचीकृत दुई कार्यालय सामान्य मर्मतपछि सञ्चालनयोग्य हुने अवस्था देखिएको छ ।

गत शुक्रबार र शनिबार दुई दिनसम्म नेपाल इन्जिनियरिङ एसोसिएसन, सहरी तथा भवन डिभिजन कार्यालय र सहरी विकास तथा भवन कार्यालय नेपालगन्जको संयुक्त टोलीले जिल्ला भित्रका सम्पूर्ण संरचनाको निरीक्षण गरी ग्रेडिङ गरेको हो । अध्ययनले करिब १२ सरकारी कार्यालयमा आगजनी र अन्य कारणले क्षति पुगेको निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्