बागलुङ–सिगाना–बरेङ सडक सात दिनपछि सञ्चालनमा



बागलुङ । भदौ २९ गते बिहानैदेखि बन्द भएको बागलुङ–सिगाना–बरेङ शान्तिपुर सडक सात दिनपछि पुनः सञ्चालनमा आएको छ। बागलुङ नगरपालिका–८ सिगानामा माथिबाट ठूलो पहिरो खसेर सडक र एउटा गोठ पुरिएको थियो भने एक परिवार विस्थापित भएको थियो।

सडकमा ठूलो चट्टानसहितको पहिरो खसेकाले खोल्न समय लागेको थियो। आजदेखि सडक सञ्चालनमा आएसँगै यात्रुहरू पुनः गन्तव्यतर्फ लागेका छन्। उक्त सडक ‘एक निर्वाचन क्षेत्र–एक सडक’ अभियान अन्तर्गत बागलुङ बजारदेखि सिगानासम्मको १० किलोमिटर कालोपत्र भएको थियो। सडक डिभिजन कार्यालय बागलुङले निर्माण ठेक्का कर्ण विल्डर्सलाई दिएको थियो।

बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काका अनुसार कार्यालय र निर्माण व्यवसायीको सहयोगमा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो। पहिरोले पुरिएको गोठबाट मृत अवस्थामा भैंसी निकालिएको उनले बताए।

खड्काले बताएअनुसार, क्षतिग्रस्त घरबाट सामग्री स्थानान्तरणमा नगरपालिकाले नगरप्रहरीको सहयोग र डोजर प्रयोग गरी तत्कालै सहजीकरण गरेको थियो। सडक डिभिजन कार्यालयको सहजीकरणमा लगातार पाँच दिन स्काभेटर प्रयोग गरेर पहिरो हटाइएको हो।

प्रतिक्रिया दिनुहोस्