
कैलाली । टीकापुर नगरपालिका–५ की जुगरानी चौधरीको जीवन केही महिनाअघि सम्म आर्थिक संकट र निराशाले भरिएको थियो । घरायसी काममा व्यस्त भए पनि आम्दानी नभएकाले उनी मानसिक तनावमा पर्थिन् । तर, सहकारी संस्थामार्फत प्राप्त २५ दिने नि:शुल्क तालिमले उनको जीवन बदलिदिएको छ ।
सो तालिमपछि जुगरानीले ५० प्रतिशत अनुदानमा उपलब्ध भएको कपडा बुन्ने उपकरण प्रयोग गरी केराको रेसाबाट कपडा उत्पादन गर्न थालेकी छन् । अहिले उनी दिनको अधिकांश समय कपडा बनाउने काममै व्यस्त हुन्छिन् । “पहिले केराको बोट खेर जान्छ भन्ने लाग्थ्यो, तर अहिले त्यसैबाट कपडा बुन्दै आम्दानी गरिरहेकी छु,” जुगरानी भन्छिन्, “अब परिवारले पनि विश्वास गर्न थालेको छ, मलाई आत्मनिर्भर भएको अनुभूति भइरहेको छ ।”
टीकापुर–८ स्थित धनसिंहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्थाले आठ महिलालाई तालिम दिएपछि कपडा उत्पादन थालिएको हो । सीप हासिल गरेका महिलाहरू उत्साहका साथ काम गरिरहेका छन् । “पहिले घरमै बेरोजगारीमा समय कटाउन गाह्रो थियो, अहिले समय नै पुग्दैन,” स्थानीय कमला साउदले भनिन् ।
महिलाहरूले बुनेको कपडा काठमाडौँस्थित अल्लो बजारमा प्रतिमिटर तीन सयमा बिक्री भइरहेको छ । माग बढ्दो भए पनि उत्पादन पर्याप्त नहुँदा पूरा गर्न नसकिएको वडा नं ७ की सकुन्तला चौधरी बताउँछिन् ।
सहकारीले दुई वर्षअघि नै केराको थामबाट रेसा उत्पादन सुरु गरेको थियो । बजारमा ठूलो माग भए पनि आपूर्ति गर्न नसकिएको सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीले बताए । “केराको बोट त फाल्ने वस्तु हो, त्यसमा अहिले खर्चै छैन, तर उत्पादन भने माग धान्न नसक्ने अवस्थामा पुगेका छौँ,” उनले भने ।
महिलाहरूले अब सरकारबाट थप सहयोगको अपेक्षा गरेका छन् । उनीहरूको भनाइमा आधुनिक मेसिन र सीप विकासका तालिम पाए उत्पादनलाई अझ विविधता दिन सकिन्छ । “केराको कपडाबाट टोपी, झोला, चप्पल, जुत्ता, गुन्द्रीलगायत धेरै सामग्री बनाउन सकिन्छ,” स्थानीय कमलाकुमारी चौधरी भन्छिन्, “हामी आफैं केही लगानी गर्न तयार छौँ, तर सरकारी सहयोग अपरिहार्य छ ।”
उनले स्थानीय सरकारले अन्य महिलालाई पनि यस्तै तालिम दिन सके रोजगारी आफैं सृजना हुने बताइन् । टीकापुरमा अहिले एक हजार हेक्टरभन्दा बढीमा केराखेती भइरहेको छ । उत्पादनपछि खेर गइरहेका केराका बोट प्रयोग गरेर अहिले महिलाहरू आत्मनिर्भर बन्न थालेका छन् ।





