
म्याग्दी । बेनी नगरपालिका–१ रत्नेचौरको सालघारीमा पाइने रातोमाटो पर्वत, बागलुङ र आसपासका जिल्लामा घर लिपपोत गर्न अत्यधिक प्रयोग हुने गरेको छ । दसैँ–तिहार नजिकिँदै गर्दा ग्रामीण क्षेत्रका ढुङ्गेघरलाई आकर्षक बनाउन यहींको रातोमाटोको माग बढ्ने गरेको छ ।
व्यवसायी तथा स्थानीय एकिन्द्र महतका अनुसार यस वर्ष अहिलेसम्म २१ ट्रयाक्टर रातोमाटो बिक्री भइसकेको छ । “खानी भएको जग्गाका धनीले प्रतिबोरा रु १०० मा माटो बेच्छन्, गाउँमा पु¥याउँदा न्यूनतम रु ५०० मा बिक्री हुन्छ,” उनले भने । वार्षिक ३० ट्रयाक्टरभन्दा बढी रातोमाटो बिक्री हुने उनको अनुभव छ ।
एक दशकअघि सर्वसाधारण स्वयं सालघारी पुगेर माटो लैजाने गरे पनि अहिले व्यापारीहरूले ट्रयाक्टरमार्फत घरमै पुर्याउने गरेका छन् । माग उच्च भएकाले बेनी, बागलुङ, कुश्मा, जलजला, काठेखोला, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा नियमित रूपमा रातोमाटो आपूर्ति हुन्छ ।
मङ्गला–२ बाबियाचौरका सागर सुनारले “रत्नेचौरको माटो सफा र चम्किलो हुने भएकाले बजारमा बढी रुचाइन्छ” बताए । त्यस्तै, सालघारीकी जुना किसानले यसपालि बारीको रातोमाटो मल्लाजका व्यापारीलाई रु २० हजारमा ठेक्कामा बिक्री गरेकी छन् । स्थानीय भगवती विश्वकर्माले भने घडेरी सम्याउँदा निस्किएको माटो प्रतिट्रयाक्टर रु ८ हजारमा बेचेको बताइन् । वार्षिक करीब तीन लाख रुपैयाँसम्म रातोमाटो बिक्री हुने गरेको स्थानीयवासीको अनुमान छ ।
दसैँअघि घर सरसफाइ गर्ने र ढुङ्गेघरलाई रातोमाटो र कमेरोले लिपपोत गर्ने परम्परा अझै कायम छ । यसरी लिपपोत गरिएका घर चिटिक्क र आकर्षक देखिने भएकाले ग्रामीण क्षेत्रमा रातोमाटोको प्रयोग निरन्तर बढिरहेको छ ।
रत्नेचौरको नाम नै रातोमाटो पाइने भएकाले राखिएको मानिन्छ । तर, खानी खन्ने क्रममा खाल्डोमा पुरिने वा पहिरो खस्ने जोखिम हुने भएकाले सावधानी अपनाउनुपर्ने स्थानीयहरूको भनाइ छ । व्यवस्थित प्रशोधन र प्याकेजिङ गर्न सके रातोमाटोलाई थप व्यावसायिक रूपमा बजारमा लैजान सकिने सम्भावना देखिएको छ ।





