
काठमाडौं । नेपालका चार खेलाडीले स्पेनमा हुने तेस्रो संस्करणको विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिपमा सहभागिता जनाउने भएका छन् । विश्व एथलेटिक्सले आयोजना गर्ने यो प्रतियोगिता सेप्टेम्बर २४ देखि २९ तारिखसम्म स्पेनको क्यान फ्रान्कमा सञ्चालन हुनेछ ।
नेपालबाट सुमन कुलुङ, साङ्गे शेर्पा, मनकुमार रोका र सुनमाया बुढाले लामो दुरीको ट्रेल रन इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । भिसा समस्याका कारण पुरा टिम सहभागी हुन नसके पनि नेपालका शीर्ष स्तरका धावकहरूले देशको प्रतिनिधित्व गर्न लागेका हुन् ।
नेपाल नम्बर एक धावक सुमन कुलुङ एसियाली वरियतामा समेत शीर्ष स्थानमा छन् भने महिला तर्फ नेपाल नम्बर एक सुनमाया बुढा एसिया वरियतामा तेस्रो नम्बरमा रहेकी छन् ।
टिम म्यानेजर प्रिती खत्रीका अनुसार खेलाडी छनोट अन्तर्राष्ट्रिय मापदण्डअनुसार गरिएको हो । “मुख्य मापदण्डका रूपमा आईटीआरए ¥याङ्किङलाई प्राथमिकता दिइएको छ, जसअनुसार शीर्ष तीन पुरुष र महिला खेलाडी छनोट भएका हुन्,” उनले भनिन् ।
नेपाल एडभेन्चर रनिङ फेडेरेसनका अध्यक्ष यकेन्द्र कुँवरले नेपाली खेलाडीको सहभागिता गौरवको विषय भएको बताए । उनले भने, “फरक खेल विधाको रूपमा एडभेन्चर रनिङमार्फत नेपाली खेलाडीले पुनः विश्व मञ्चमा आफ्नो चुनौती प्रस्तुत गर्दैछन् ।”
फेडेरेसनले खेलाडीको विश्वस्तरीय प्रदर्शनलाई थप सशक्त बनाउन आवश्यक पूर्वाधार निर्माण र अन्तर्राष्ट्रिय पहुँच विस्तारमा निरन्तर काम गरिरहेको समेत अध्यक्ष कुँवरले उल्लेख गरे ।





