
काठमाडौंँ । राजधानीमा सम्पन्न ‘मिस्टर नेपाल–२०२५’मा ललितपुरका हिमाञ्चल राज केसी ‘मिस्टर नेपाल वर्ल्ड’ घोषित भएका छन् । शनिबार राति होटल सोल्टीमा सम्पन्न ग्राण्ड फिनालेमा उनले उपाधि हात पारेका हुन् । विजयी भएपछि केसीले आफूलाई “मिस्टर नेपाल” भनेर चिनाउन पाउँदा अत्यन्त खुसी लागेको बताए । साथै, उनले उपाधिले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको नाम उच्च बनाउने जिम्मेवारी थपिएको बताए ।
यसैगरी, भद्रपुर झापाका गिरिश रत्न शाक्य ‘मिस्टर ग्लोबल नेपाल’ र मोरङका प्रकाश चौहान ‘म्यान अफ द वर्ल्ड नेपाल’ घोषित भए । दुवैले उपाधिले नयाँ अवसरको ढोका खोलेको बताउँदै यसलाई अन्तर्राष्ट्रिय मञ्चमा सदुपयोग गर्ने संकल्प व्यक्त गरे ।
तीन शीर्ष विजेताले आ-आफ्नो अन्तर्राष्ट्रिय प्रतियोगिता—‘मिस्टर वर्ल्ड २०२५’, ‘मिस्टर ग्लोबल २०२५’ र ‘म्यान अफ द वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछन् । साथै, उनीहरूले पाँच लाख रुपैयाँ बराबरको पुरस्कार समेत प्राप्त गरेका छन् ।
भब्य रनवेमा फेसनमय वातावरणबीच भएको फाइनलमा २८ जना प्रतियोगीले प्रतिस्पर्धा गरेका थिए । उपविजेतातर्फ प्रकाश चौहानले ‘मिस्टर मल्टिमिडिया’ र ‘मोष्ट एक्टिभ’ दुवै उपाधि जिते । यस्तै, ‘मोष्ट ट्यालेन्ट’ विजय स्याङतान, ‘बेष्ट फिजिक’ लक्ष्मण चन्द ठकुरी, ‘मोष्ट पपुलर’ अस्टिन शेरचन, ‘बेष्ट पर्सनालिटी’ हिमाञ्चल राज केसी, ‘मिस्टर कमर्सियल’ आशिष गिरी, ‘मोष्ट इन्टेलेक्चुअल’ सक्रिय घिसिङ तामाङ, ‘मिस्टर स्टाइल आइकन’ निश्चिल मानन्धर, ‘बेष्ट स्पोर्टसम्यान’ दर्पण सिंह गिरी, ‘मोष्ट क्रियटिभ’ सबल कटुवाल र ‘जेन्टलम्यान विथ प्रपोज’ गिरिश रत्न शाक्य बने ।
नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाका अनुसार, प्रतियोगीहरूलाई स्विमिङ, फुटबल, समाजसेवा, छोटो हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जनभन्दा बढी विषयमा प्रशिक्षण दिइएको थियो । कोरियोग्राफर तथा मेन्टरसिपको जिम्मेवारी प्रशान्त ताम्राकारले लिएका थिए ।
आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रबन्ध निर्देशक यत्ना पाण्डेले ‘मिस्टर नेपाल’ प्रतियोगिता सन् २००१ देखि नियमित आयोजना हुँदै आएको बताउँदै यसले युवाको व्यक्तित्व विकास, आत्मविश्वास वृद्धि र नेतृत्वदायी क्षमता उजागर गर्न ठूलो योगदान पुर्याउँदै आएको उल्लेख गरिन् ।





