
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा समाजवादी नेता डा. बाबुराम भट्टराईले आफ्नो निजी पुस्तक सङ्ग्रहसहित असंख्य दस्तावेज खरानी भएको बताएका छन् ।

उनका अनुसार पत्नी हिसिला यमीका करिब ८०० र आफ्ना करिब १२०० गरी झण्डै दुई हजार पुस्तक एकैपटक खरानी भएका हुन् । जनयुद्धदेखिका पार्टीका महत्वपूर्ण दस्तावेज, डायरी र अन्य कागजपत्रसमेत नष्ट भएको उनले जनाएका छन् ।

“हिसिलाका विशेषगरी महिला आन्दोलन, विचार–दर्शन, इतिहास र राजनीतिसम्बन्धी जीवनभर मेहनत गरेर सङ्कलन गरिएका अमूल्य पुस्तकहरू पूर्ण रूपमा नष्ट भए,” भट्टराईले बताएका छन् ।
उनका आफ्ना क्लासिकल साहित्य, धर्म–दर्शन, राजनीति–अर्थशास्त्र, इतिहास–संस्कृति, जातीयता र अन्य विभिन्न विषयका खण्ड पूर्ण रूपमा खरानी भएको उल्लेख गरेका छन् । तर संयोगवश अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति, साहित्य, जीवनी तथा केही छानिएका विज्ञान–प्रविधिका पुस्तकहरू भने बाँकी रहेको उनले जानकारी दिएका छन् ।







