स्पेनमा हुने विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिपमा चार नेपाली खेलाडी



काठमाडौं, असोज ५ गते ।
नेपालका चार शीर्ष ट्रेल रनर खेलाडीले स्पेनमा हुने तेस्रो संस्करणको विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । सेप्टेम्बर २४ देखि २९ तारिकसम्म स्पेनको क्यान फ्रान्कमा हुने प्रतियोगितामा सुमन कुलुङ, साङ्गे शेर्पा, मनकुमार रोका र सुनमाया बुढाले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

भिषा जटिलताका कारण पूरा टिम सहभागी हुन नसके पनि वरियताका हिसाबले अग्रस्थानमा रहेका यी चार खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने भएका हुन् । नेपाल नम्बर–१ खेलाडी सुमन कुलुङ एसियामा पनि शीर्ष स्थानमा रहेका छन् भने महिला खेलाडी सुनमाया बुढा एसिया वरियतामा तेस्रो स्थानमा छिन् । सबै खेलाडीले सिंगल लामो दुरीको ट्रेल रन इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।

टिम म्यानेजर प्रिती खत्रीका अनुसार खेलाडी छनोट अन्तर्राष्ट्रिय मापदण्डअनुसार गरिएको हो । “आईटीआरए ¥याङ्किङलाई प्राथमिक मापदण्ड बनाइएको हो । पुरुष खेलाडीका लागि न्यूनतम ८६० स्कोर आवश्यक थियो, जसमा शीर्ष तीन पुरुष र महिला खेलाडी छनोट भए,” उनले बताइन् ।

नेपाल एडभेन्चर रनिङ फेडेरेसनका अध्यक्ष एकेन्द्र कुँवरले नेपाली खेलाडीले विश्वस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नु सबै नेपालीका लागि गर्वको विषय भएको बताए । उनले भने, “एडभेन्चर रनिङ जस्तो फरक खेलमार्फत नेपाली खेलाडीले पुनः विश्व मञ्चमा आफ्नो उपस्थितिलाई बलियो बनाउँदैछन् । फेडेरेसनले आवश्यक पूर्वाधार निर्माण र अन्तर्राष्ट्रिय पहुँच विस्तारमा निरन्तर काम गरिरहेको छ ।”

प्रतिक्रिया दिनुहोस्