हुम्लामा सडक सञ्जाल विस्तारसँगै खच्चड यातायात लोप हुँदै |



हुम्ला । हिमाली जिल्ला हुम्लामा विगतमा यातायातको प्रमुख साधनका रूपमा प्रयोग हुने खच्चड विस्तारै हराउँदै गएका छन् । जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि सामान ढुवानीको परम्परागत साधन खच्चडको प्रयोग दिनानुदिन घट्दो क्रममा छ ।

नुन, चामल, तेल, खाद्यान्न र लत्ताकपडालगायत दैनिक उपभोग्य सामग्री सदरमुकाम सिमकोटसहित दुर्गम गाउँमा पु¥याउन प्रयोग हुने खच्चड अहिले प्रयोगविहीन बन्दै गएका छन् । स्थानीय ज्येष्ठ नागरिकका अनुसार जनजीवन, संस्कार र जीवनशैलीसँग गहिरो सम्बन्ध राख्ने खच्चड, घोडा र डोको–नाम्लो जस्ता साधन हराउँदै गएको छ ।

जिल्ला यसवर्ष मात्र औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिए पनि अधिकांश गाउँमा यसअघि नै सडक पुगेको थियो । सडक विस्तारसँगै छोटा दूरीका सवारीसाधन सञ्चालन हुन थालेपछि खच्चड विस्थापन भएको अदानचुली गाउँपालिका–३ का हर्कदन फडेराले बताए । उनका अनुसार अहिले खच्चड यातायात इतिहास मात्र बन्दै गएको छ ।

गाउँगाउँमा कार, जीप, ट्रक र ट्याक्टर सहजै पुग्न थालेपछि मानिसहरूले ढुवानीका लागि खच्चड प्रयोग गर्न छाडेका छन् । सडक विस्तारले कम समय र कम लागतमा बढी काम गर्न सहज बनाएकाले खच्चड व्यवसाय टिक्न नसकेको फडेराको भनाइ छ ।

फडेराले विगतदेखि नै खच्चड पालेर जीविकोपार्जन गर्दै आए पनि काम घट्दा आम्दानीमा ठूलो कमी आएको बताए । “अब खच्चडलाई पालनपोषण गर्नै मुस्किल छ,” उनले भने ।

व्यावसायिक रूपमा खच्चड पाल्ने मात्र नभई जिल्लाका व्यापारीहरू समेत अहिले गाडी, बस, जीप र ट्याक्टर सञ्चालनतर्फ उन्मुख भएका छन् । समयको मागसँगै परम्परागत व्यवसायलाई विस्थापित गर्दै आधुनिक यातायात साधनलाई प्राथमिकता दिनुपर्ने अवस्था आएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्