
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले असोज ५ गते (आइतबार) लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको सुतक बार्नुपर्ने आवश्यकता नरहेको स्पष्ट पारेको छ ।
समितिका सदस्य तथा धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार ग्रहण नेपाली आकाशमा नदेखिने भएकाले यसबाट कुनै दोष लाग्दैन । सोह्र श्राद्ध गर्ने कि नगर्ने भन्ने जिज्ञासा धेरै उठे पनि सुतकको प्रभाव नेपालमा नपर्ने भएकाले धर्मशास्त्र अनुसार बार्नुपर्ने प्रावधान छैन ।
उक्त सूर्यग्रहण आश्विन कृष्ण औँसीका दिन लाग्ने भए पनि यो केवल न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा र अन्टार्टिकाजस्ता मुलुकबाट मात्र देखिने जनाइएको छ ।





