चाडपर्व नजिकिएसँगै भारतबाट स्वदेश फर्किँदै नेपालीहरू |



कैलाली । बडादसैँ र तिहार नजिकिँदै गर्दा रोजगारीका सिलसिलामा भारत गएका नेपालीहरू धमाधम स्वदेश फर्किन थालेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमासुरक्षा गुल्म धनगढीका अनुसार कैलालीको त्रिनगर नाकाबाट मात्रै पछिल्लो एक सातामा ४ हजार ७७३ जना नेपाली घर फर्किएका छन् । दिनहुँ स्वदेश फर्किनेको संख्या बढ्दो क्रममा रहेको सीमासुरक्षा गुल्मले जनाएको छ ।

डोटीका रमेश साउद भारतको सुरतमा काम गर्दै आएका थिए । उनी चाडपर्व मनाउन परिवारसँग भेटघाट गर्न स्वदेश फर्किएका हुन् । ‘परिवारसँग मिलेर परिकार बनाएर रमाइलो गर्न पाइन्छ, जसले लामो समय विदेशमा बिताएको पीडा भुलाइदिन्छ,’ उनले भने ।

त्यस्तै, बैंगलोरमा होटल व्यवसायमा कार्यरत कैलालीका शिवराज धामीले टीका थाप्न र खेतीपाती भित्र्याउन घर फर्किएको बताए । दिल्लीमा काम गर्दै आएका बझाङका राजेन्द्र गिरी पनि पर्वका लागि स्वदेश फर्किएका छन् ।

भारतमा रोजगारी गर्ने नेपालीहरू मध्ये धेरैले खेतीपातीको काम सकिएको समयमा घर फर्कने र चाडपर्व परिवारसँग मनाउने गरेका छन् । खेतीपाती नभएकाहरू भने लामो समयपछि मात्र चाडवार्डका लागि फर्किने परम्परा रहेको छ ।

सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका धेरै युवा रोजगारीका लागि दिल्ली, मुम्बई, पञ्जाब, अहमदाबाद, नासिक र पिथौरागढजस्ता भारतीय शहरहरूमा जाने गरेका छन् । भिसा आवश्यक नपर्ने र सहजै काम पाउने भएकाले यस क्षेत्रका धेरै युवाले भारत रोज्ने गरेको सीमासुरक्षाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्