धरान उपमहानगरले प्रस्तुत गर्‍यो दुई अर्ब २० करोडको बजेट |



धरान । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रमसँगै दुई अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आज बसेको १७ औँ नगरसभामा उपप्रमुख अइन्द्रविक्रम बेघाले बजेट प्रस्तुत गरेका हुन् ।

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारको अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारको अनुदान रु सात करोड ७३ लाख ४४ हजार, राजस्व बाँडफाँटबाट रु ३४ करोड १८ लाख ५० हजार, सडक बोर्डबाट रु दुई करोड र गत वर्षको मौज्दातबाट रु सात करोड रहने अनुमान गरिएको छ ।

खर्चतर्फ, सहरी योजना तथा भौतिक पूर्वाधार विकासका लागि रु ६६ करोड ९४ लाख, शिक्षा, युवा तथा खेलकुदमा रु ४६ करोड ८५ लाख, स्वास्थ्यमा रु छ करोड ९९ लाख ९५ हजार, सामाजिक विकासमा रु चार करोड ८६ लाख ४५ हजार विनियोजन गरिएको छ ।

त्यसैगरी, आर्थिक विकासमा रु एक करोड २९ लाख, वन, वातावरण, ऊर्जा तथा विपद् व्यवस्थापनमा रु दुई करोड ७४ लाख ५० हजार, कानुन तथा न्याय सम्पादनमा रु २० लाख, सार्वजनिक जग्गा संरक्षणमा रु १५ लाख, राजस्व परिचालनमा रु ४३ लाख र नगर भिजन कार्यक्रमका लागि रु पाँच करोड पाँच लाख छुट्याइएको छ । चालु आवमा धरानका २० वडाका लागि मात्रै रु २१ करोड विनियोजन गरिएको छ ।

नगर कार्यपालिकातर्फ निःसर्त विनियोजन रु एक अर्ब ३१ करोड ९२ लाख ८२ हजार, ससर्त अनुदान रु ६० करोड ५६ लाख ७७ हजार, समपूरक बजेट रु एक करोड ८२ लाख र विशेष अनुदान रु पाँच करोड ४३ लाख रहने उल्लेख गरिएको छ ।

उपप्रमुख बेघाका अनुसार बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक विकास र विपद् व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्