दसैँ नजिकिँदै गर्दा भक्तपुरका कुम्हालेहरू व्यस्त |



भक्तपुर । दसैँको चहलपहल बढेसँगै भक्तपुरका कुम्हाले परिवारहरू यतिबेला माटोका सामग्री बनाउन भ्याइनभ्याइ छन् । सूर्यविनायकका श्याम प्रजापतिको परिवार बिहानदेखि रातिसम्म निरन्तर काममा व्यस्त छ । रातिसम्म जागारो गरेर अर्डर पूरा गर्नुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ ।

श्यामका परिवारका सदस्यहरू घटस्थापना, सप्तमी, अष्टमी, नवमीदेखि बडादसैँसम्म पूजामा प्रयोग हुने गमला, धुपौरो, गपचा, थापेङ, सोमा, अंती, सुकुना, पतु, समेबजी खोला, सल्लीलगायतका सामग्री उत्पादनमा जुटेका छन् । दसैँमा जमरा राख्ने ढुकुटी र देवीपूजाका लागि आवश्यक माटोका भाँडाको उच्च माग भएकाले परिवारका सबै सदस्य माटो मुछ्ने, भाँडा बनाउने, सुकाउने, रंग लगाउने, आगोमा पकाउने र बजार पुर्‍याउने काममा दिनरात खटिएका छन् ।

यसरी नै तालाक्को टोलका सुन्दर प्रजापति पनि पर्व सामग्री बनाउन व्यस्त छन् । उनका अनुसार दसैँ–तिहार र छठमा मागअनुसार सामग्री उत्पादन गरी समयमा पुर्‍याउन सके वर्षभरि घरखर्च र छोराछोरीको पढाइ सहजै धान्न सकिन्छ । “तीन महिना निकै व्यस्त हुने, बाँकी महिनामा भने सामान्य काम गरेर पनि गुजारा गर्न सकिने” सुन्दरले बताए ।

व्यवसायीहरूका अनुसार बजारमा आधुनिक सामग्री उपलब्ध भए पनि चाडपर्वमा माटोका सामग्रीको प्रयोग बढी हुने भएकाले यसको व्यापार अझै फस्टाउँदै गएको छ । लागत र मेहनतअनुसार आम्दानी राम्रो हुने भएकाले नयाँ पुस्ता पनि यस पेशाप्रति आकर्षित भइरहेको देखिन्छ ।

भक्तपुरमा दुई रुपैयाँ ५० पैसादेखि ९०० रुपैयाँसम्मका माटोका सामग्री उत्पादन हुने गर्छ । अहिले तालाक्को र सूर्यविनायक मात्र नभई सूर्यमढी, लिवाली, तुमुचो, बुलुचा, घलाटे, चोलिँचा, च्याम्हासिहंलगायत क्षेत्रका कुम्हाले परिवार पनि पर्व सामग्री बनाउने कार्यमा खटिएका छन् ।

यी सामग्री भक्तपुरका नवदुर्गा देवगृह, तलेजु मन्दिर, एकान्त कुमारी देवगृहसहित काठमाडौं, ललितपुर, पनौती, त्रिशूली, पोखरा, कीर्तिपुर, थेचो, बनेपा, धुलिखेलसम्म पुग्ने व्यापारी सुन्दर प्रजापतिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्