वीरगञ्जको घण्टाघर सात महिनापछि मर्मत सम्पन्न



पर्सा । वीरगञ्जको ऐतिहासिक पहिचान मानिने घण्टाघर सात महिनापछि मर्मतसम्भार गरी पुनः पहिलाकै स्वरूपमा फर्काइएको छ । गत फागुन ७ गते ‘बाल्कोनी’ संरचना भत्किएर इँटा झरेपछि क्षतिग्रस्त भएको घण्टाघरलाई वीरगञ्ज महानगरपालिकाले मर्मत गरी पुनः आकर्षक बनाएको हो ।

वीरगञ्ज महानगर भूमि व्यवस्था तथा सहरी विकास महाशाखा प्रमुख प्रभात झाका अनुसार घण्टाघरलाई ऐतिहासिक सम्पदा भएकाले मेशिन प्रयोग नगरी म्यानुअल तरिकाले मर्मत गरिएको हो । उनले भने, “मर्मतमा केही समय बढी लाग्यो, तर अहिले संरचना पूर्णरूपमा सुरक्षित र टिकाउ बनेको छ । कम्तीमा पनि १० वर्षसम्म घण्टाघर मजबुत रहन्छ भन्ने अपेक्षा गरेका छौँ ।”

मर्मतका क्रममा घण्टाघर वरपर स्काफोल्डिङ र कन्स्ट्रक्सन जाली राखेर सवारीसाधन तथा यात्रुको सुरक्षामा ध्यान दिइएको थियो । हाल ती सबै हटाइसकेर घण्टाघरलाई पुनः सार्वजनिक अवलोकनका लागि खुला गरिएको छ ।

महाशाखा प्रमुख झाले अनुमानित लागत करिब २० लाख रुपैयाँभन्दा कममा मर्मत सम्पन्न भएको बताए । ठेक्का महाशक्ति कन्स्ट्रक्सनले पाएको थियो ।

वीरगञ्जको प्रतीक मानिने यो घण्टाघर सन् १९७९ फेब्रुअरी ८ मा जापानको योनागो सहरका विद्यार्थीहरूले आफ्ना एकदिनको खाजाको पैसा संकलन गरी निर्माण गरिएको हो । आज पनि यो संरचना स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख आकर्षण बनेको छ ।

प्रतिक्रिया दिनुहोस्