काठमाडौँ महानगरपालिकाद्वारा चाडपर्व लक्षित बजार अनुगमन आगामी सातादेखि



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चाडपर्वलाई लक्षित गरी आगामी सातादेखि बजार अनुगमन सुरु गर्ने भएको छ । गत भदौ २३ र २४ गते देशभर भएको ‘जेनजी’ आन्दोलनका कारण स्थगित भएको बजार अनुगमन एक हप्ता ढिला गरी सुरु गर्न लागिएको महानगरले जनाएको छ ।

कामपाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेका अनुसार हिन्दूहरूको महान् पर्व बडादसैँ नजिकिँदै गर्दा बजार व्यवस्थापन र उपभोक्ता हितका लागि अनुगमन आवश्यक देखिएको हो । उनले भने, “महानगरले बजार अनुगमन गर्दा केन्द्रका निकाय, सुरक्षा निकायलगायतसँग समन्वयमा मात्र गर्ने गर्दछ । आन्दोलनका कारण ढिलाइ भए पनि अब अर्को सातादेखि अनुगमन सुरु हुनेछ ।”

अनुगमन टोली महानगरकी उपप्रमुख सुनिता डङ्गोलको नेतृत्वमा गठन गरिएको छ । टोलीले प्रदर्शनी मार्गस्थित टुकुचा तरकारी बजार, खसी बजार, खाद्य संस्थान सुपथ बिक्री कक्षसहित विभिन्न स्थानहरूको अनुगमन गर्नेछ ।

विगतका वर्षझैँ यसपालि पनि अनुगमनका क्रममा खाद्य वस्तुको मूल्य, उत्पादन मिति, म्याद, अधिकतम मूल्यजस्ता विषयमा विशेष ध्यान दिने र कमजोरी भेटिए कानुनअनुसार जरिवाना तथा कारबाही गर्ने चेतावनी महानगरले दिएको छ ।

कामपाले उपभोक्ताले स्वच्छ, गुणस्तरीय र सुपथ मूल्यमा सामान किन्न आफ्नै तर्फबाट पनि सचेत रहनुपर्ने जनाएको छ । महानगरले वर्षायाममा खानेपानीका जारमा गरेको अनुगमनमार्फत करिब ३०० जार नष्ट गरेको थियो भने उपभोक्ताको गुनासोका आधारमा होटल र मिठाई पसलमा कारबाही गर्दै रु दुई लाख जरिवाना समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्