
काठमाडौं । हालै मुलुकमा उत्पन्न संकटपछि नेपाली सेनाले गरेको कदमलाई प्रशंसनीय भन्दै स्वतन्त्र नागरिक राकेश कुमार शर्माले सार्वजनिक वक्तव्य जारी गरेका छन् । उनले सेनाले मुलुकलाई सहि ट्र्याकमा ल्याएको भन्दै धन्यवाद दिएका छन् ।
शर्माका अनुसार, भाद्र २३ र २४ गतेको घटनापछि मुलुक संकटग्रस्त अवस्थामा पुगेको बेला सेनाले निर्णायक भूमिका खेलेर निकास दिएको हो । उनले भने, “नेपालको सेनाहरुको जति प्रशंसा गरे पनि कमै हुन्छ । सेनाहरुको स्वागत योग्य कदम छ ।”
उनले माओवादी द्वन्द्वकालमा समेत सेनाले मुलुकलाई जोगाएको भन्दै तत्कालीन ६०१ सभासद, ८८४ सांसद र प्रमुख राजनीतिक दलका नेताहरूलाई आजको अवस्थाको दोषी करार गरेका छन् । विशेषगरी नेकपा (माओवादी) नेतृत्वलाई उनले “मुलुकका लागि अभिशाप” भन्दै कडा आलोचना गरेका छन् ।
शर्माले पुष्पकमल दाहाल, बाबुराम भट्टराई, केपी शर्मा ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाललगायत नेताहरूलाई मुलुकको विनाशका जिम्मेवार ठहर गरेका छन् ।
उनले भाद्र २७ गते प्रधानमन्त्री बनेकी सुशीला कार्कीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । साथै, प्रधानमन्त्री कार्कीले तत्काल गर्नुपर्ने कामका रूपमा भ्रष्टाचारमा संलग्न नेताहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने, जिम्मेवार नेताहरूमाथि कारबाही गर्नुपर्ने र भाद्र २३ गते आन्दोलनमा सहादत भएका युवाहरूका माग पुरा गर्नुपर्ने मागसमेत गरेका छन् ।
शर्माले भनेका छन्, “राज्यकोष दुरुपयोग गर्ने नेताहरूको सम्पत्ति राष्ट्रियकरण गरी मुलुकको विकासमा प्रयोग गर्नुपर्छ । साथै, सहिद भएका युवाहरूको बलिदानलाई इज्जत दिने काम तत्काल सुरु गर्नुपर्छ ।”





