बेनी–दरवाङ सडक पुनः सञ्चालनमा |



म्याग्दी । जिल्लाका तीन स्थानीय तहलाई सदरमुकाम बेनीसँग जोड्ने महत्वपूर्ण बेनी–दरवाङ सडक दुई दिनपछि आज साँझदेखि पुनः सञ्चालनमा आएको छ ।

बागलुङको तमानखोला गाउँपालिकासहित म्याग्दीको पश्चिमी क्षेत्रमा ‘लाइफ लाइन’ मानिने यो सडक मङ्गला गाउँपालिका–२ लाम्पाटामा गत बुधबार राति खसेको पहिरोका कारण अवरुद्ध भएको थियो । पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका प्रमुख बिष्णु पौडेलका अनुसार डोजर परिचालन गरी सडकमा थुप्रिएको पहिरो हटाइएपछि यातायात पुनः खुलेको हो । सडक अवरुद्ध हुँदा मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका बासिन्दाले दैनिक आवतजावत, सामान ढुवानी र निकासीमा ठूलो समस्या भोग्नु परेको थियो ।

पटक–पटक सडक अबरुद्ध हुँदा निर्माणाधीन जलविद्युत्, प्रसारण लाइन, सबस्टेशन, सडक र भवनलगायतका विकास आयोजना प्रभावित हुँदै आएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्