सुदूरपश्चिमका २८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन



कञ्चनपुर । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सुदूरपश्चिमका २८ स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा आएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले संयुक्तरूपमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् ।

खाद्य व्यवस्था कम्पनीले २० स्थानमा पसल सञ्चालन गरेको छ भने साल्ट ट्रेडिङले आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको जानकारी दिइएको छ ।

खाद्य व्यवस्था कम्पनी सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख दीपक थापाका अनुसार गत भदौ ३० गतेदेखि सञ्चालनमा आएका पसलमार्फत उपभोक्ताले दुई प्रकारका चामल र चिनी प्रतिकिलो रु पाँच छुटमा पाउनेछन् । कैलालीको धनगढी, डडेलधुराको खलङ्गा, कञ्चनपुरको महेन्द्रनगर, डोटीको खलङ्गा र मौवानगरसहित विभिन्न जिल्लामा पसल सञ्चालनमा छन् ।

यसैगरी बाजुराको मार्तडी, कोल्टी, धुलाचौर, बिच्छाया र पाण्डुसैन, बैतडीको गोठालापानी, परचौडीहाट, रोलेश्वर, आम्चौरा र दोगडाकेदार, दार्चुलाको सुनकेसरा, हिकिला, खण्डेश्वरी र अछामको मङ्गलसेन, सैनाबजार, साफेबगर र कमल बजारमा पनि सुपथ मूल्य पसल खुलेका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेसनका प्रदेश प्रमुख तेजबहादुर कुँवरका अनुसार आठ स्थानमा सञ्चालन भएका पसलमार्फत नुन प्रतिकिलो रु दुई, चिनीमा रु पाँच, तेल, चिउरा, पिठो, मैदा र दालमा प्रतिकिलो रु सात छुट दिइनेछ ।

साल्ट ट्रेडिङले डडेल्धुरा, कैलालीको धनगढी, टीकापुर र अत्तरिया, कञ्चनपुरको बेलौरी र महेन्द्रनगर, डोटीको दिपायल र बैतडीको पाटनबाट सुपथ मूल्य पसल सञ्चालन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्