पर्यटक बसले चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला |



काठमाडौँ । दसैँ, तिहार र छठ पर्वलाई ध्यानमा राखी पर्यटक बसले यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान) ले आन्तरिक तथा बाह्य पर्यटकलाई सुरक्षित र व्यवस्थित यात्रा सुविधा उपलब्ध गराउने उद्देश्यले अग्रिम टिकट बुकिङ सुरु गरेको हो ।

टिवानका अध्यक्ष भीष्म न्यौपानका अनुसार काठमाडौँ, पोखरा, सौराहालगायतका पर्यटकीय गन्तव्यमा जाने यात्रुको सहजताका लागि अनलाइन प्रणालीमार्फत पनि टिकट काट्न सकिने व्यवस्था गरिएको छ । हाल खल्ती, इसेवा जस्ता प्लेटफर्ममार्फत टिकट उपलब्ध हुने उनले जानकारी दिए ।

काठमाडौँको सोह्रखुट्टे सडकबाट हाल करिब २०० भन्दा बढी बस सञ्चालन भई देशका प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य यात्रुलाई सेवा दिइँदै आएको छ । यसबीच, दसैँका लागि आन्तरिक हवाई उडानका अधिकांश टिकट बिक्री भइसकेका छन् । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार दसैँका लागि ७० प्रतिशतभन्दा बढी टिकट बिक्री भइसकेको छ भने धेरै यात्रुले अग्रिम रूपमा टिकट होल्ड पनि गरिसकेका छन् ।

तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने यस वर्ष सामान्य बस सेवाका लागि अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको छ । महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार जेनजी प्रदर्शनका कारण धेरै क्याम्पस बन्द भएका र विद्यार्थीहरू गृह जिल्लातर्फ प्रस्थान गरिसकेकाले अग्रिम बुकिङ आवश्यक नभएको बताइएको छ । उनले यात्रुहरूलाई प्रस्थान मितिभन्दा पाँच दिन अघि नै टिकट काट्न सकिने व्यवस्था यथावत् रहेको जानकारी दिए ।

यसैबीच, चाडपर्वमा यात्रुको सहजतालाई मध्यनजर गर्दै सरकारले काठमाडौँ उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार उक्त सहायता कक्षको उद्घाटन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्