राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति यादवको आह्वान |



काठमाडौँ । गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवले मुलुकको संवेदनशील अवस्थामा राष्ट्रिय एकता मजबुत बनाउँदै संयमतापूर्वक अघि बढ्न सबैलाई आह्वान गरेका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै उनले लोकतन्त्रमा बदलाको भावना होइन, कानुनको शासन नै प्रमुख हुनुपर्ने बताए । “गल्ती गर्ने जो–कोही कानुनबाहिर जानेलाई दण्डित हुनुपर्छ,” पूर्वराष्ट्रपति यादवले स्पष्ट पारे । उनले आन्दोलनरत युवा पुस्तासहित सबैलाई वर्तमान चुनावी सरकारलाई साथ दिन पनि आग्रह गरे ।

डा. यादवले संविधान नेपालको ८०/९० वर्षको आन्दोलन र संघर्षको उपलब्धि भएको भन्दै यसको रक्षा गर्न सबै दल र नागरिक एकजुट हुनुपर्ने बताए । उनले भने, “यो संविधान धेरै कष्ट, बलिदान र ठुलो संघर्षको प्रतिफल हो । यसलाई समयसापेक्ष संशोधन गरेर अगाडि बढाउनुपर्छ, तर लोकतन्त्रको मूल्य–मान्यतामाथि आघात गर्नु हुँदैन ।”

हालैको आन्दोलनलाई उनले भ्रष्टाचारमुक्त र सुशासनयुक्त नेपालको आकांक्षा भएको सकारात्मक संकेत माने पनि त्यसलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न तत्कालीन सरकार र सुरक्षाप्रशासन असफल भएको टिप्पणी गरे । आन्दोलनका क्रममा भएका विध्वंसकारी गतिविधिलाई उनले अराजक तत्त्वको काम ठहर गर्दै दोषीलाई कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए ।

आगामी बाटोबारे बोल्दै उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारलाई संविधानअनुसार अघि बढ्न सुझाव दिए । सबै दलले जनताबाट ‘फ्रेस म्यान्डेट’ लिएर आएपछि संविधानमा आवश्यक संशोधन गरेर मजबुत बनाउनुपर्ने उनको धारणा छ ।

उनले संघीयता, समावेशिता र धर्मनिरपेक्षतासहितको संविधानलाई नेपालको विविध सामाजिक, सांस्कृतिक र भौगोलिक वास्तविकतामा आधारित ऐतिहासिक उपलब्धि बताउँदै चुनावमार्फत मात्र लोकतन्त्रलाई सबल बनाउन सकिने औंल्याए ।

“जनतामै सार्वभौमसत्ता निहित छ, जनता नै देशका मालिक हुन् । त्यसैले संविधान र लोकतन्त्रको बाटोबाटै भविष्य कोर्नुपर्छ,” पूर्वराष्ट्रपति यादवले देशवासीमा आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्