
ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत शीर्ष नेताहरूले ललितपुरस्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयको अवलोकन गरेका छन् । जेनजी प्रदर्शनका क्रममा आगजनी भएको कार्यालयमा आज बिहान पुगेर उनीहरूले क्षतिको विवरण लिए।
अवलोकनमा उपाध्यक्ष गुरु बराल, अष्टलक्ष्मी शाक्य, महासचिव शङ्कर पोखरेल, विदेश विभाग प्रमुख राजन भट्टराई, नेता अमृतकुमार बोहरा लगायत सहभागी थिए।
उनीहरूलाई कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय कार्यालय सचिव प्रदीप पराजुलीले क्षतिको अवस्थाबारे जानकारी गराएका थिए। श्रेष्ठका अनुसार, ‘एउटै समूहले योजनाबद्ध रूपमा पटक–पटक आएर सामग्री लुटपाट गर्ने मात्र होइन, अन्ततः कार्यालयमा आगजनी समेत गरेका छन्।’





