धारा नेपालगन्ज म्याराथनको अफिसियल एयरलाइन्स पार्टनर यति एयरलाइन्स



नेपालगन्ज । आगामी मंसिर ६ गते आयोजना हुने ११औं धारा नेपालगन्ज म्याराथनको अफिसियल एयरलाइन्स पार्टनर यति एयरलाइन्स बनेको छ । धारा नेपालगन्ज म्याराथन र यति एयरलाइन्सबीच भएको सम्झौताअनुसार एयरलाइन्सले म्याराथनका साथै यससँग सम्बन्धित अन्य इभेन्टहरूमा पनि सहकार्य गर्नेछ ।

नेपालगन्जमा आयोजित कार्यक्रममा यति एयरलाइन्सका बिजनेस डेभलपमेन्ट अफिसर युवराज बिष्ट र धारा नेपालगन्ज म्याराथनका प्रोग्राम म्यानेजर कपिल थापाबीच सम्झौतापत्र आदानप्रदान भएको हो ।

विश्व दौड धावकहरूको साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (AIMS) को पूर्ण सदस्य धारा नेपालगन्ज म्याराथनले यस साझेदारीसँगै विजेता तथा शीर्ष नेपाली धावकलाई विश्वस्तरीय म्याराथनमा सहभागी गराउने अवसर अझ सहज हुने संस्थापक टीएस ठकुरीले बताए ।

उनका अनुसार धारा नेपालगन्ज म्याराथनले विभिन्न स्वदेशी तथा विदेशी संघसंस्था, खेल सामग्री उत्पादक, वितरक कम्पनी र व्यापारिक घरानासँग सहकार्य गर्दै इभेन्टलाई फराकिलो बनाउने लक्ष्य लिएको छ । यसअघि थाइल्याण्डमा हुने बाङ्सेन रनिङ सिरिजसँग पनि सम्झौता गरी धावक, पदाधिकारी तथा सदस्यलाई अनुभव र क्षमता अभिवृद्धिको अवसर दिलाइएको थियो ।

ठकुरीले धारा नेपालगन्ज म्याराथनलाई केवल खेल प्रतिस्पर्धा मात्र नभई समुदायका सबै सदस्यलाई लाभ हुने साझा प्लेटफर्मका रूपमा अघि बढाइने बताए । सम्झौताअनुसार धावक र सदस्यहरूले यति एयरलाइन्सको सहुलियत टिकटसँगै खेल सामग्री उत्पादक तथा वितरक कम्पनीहरूको विशेष सुविधा पनि पाउनेछन् ।

आगामी दिनमा नेपालगन्ज कनक्लेवका लागि विभिन्न पेशागत तथा व्यवसायिक संघसंस्थासँग सहकार्य गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ । म्याराथनसम्बन्धी थप जानकारी चाँडै सार्वजनिक गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्