मिष्टर नेपाल २०२५ को ग्राण्ड फिनाले शनिबार, ३० युवा उपाधि प्रतिस्पर्धामा |



काठमाडौंँ । ‘मिष्टर नेपाल २०२५’को ग्राण्ड फिनाले आउँदो शनिबार होटल सोल्टीमा भव्य रुपमा सम्पन्न हुने भएको छ । शीर्ष उपाधिका लागि देशभरबाट छानिएका ३० जना युवा प्रतिस्पर्धामा उत्रिनेछन् ।

आयोजक नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाका अनुसार सम्पूर्ण तयारी पूरा भइसकेको र कार्यक्रम सभ्य तथा भव्य हुनेछन् । कार्यक्रममा देशका प्रतिष्ठित व्यक्तिहरूको सहभागीता रहनेछ ।

प्रतियोगीमध्ये नेपालगन्जका कृष्ण कसुधम, महेन्द्रनगरका इन्द्र ढुंगेल, धनगढीका रेजो नकुमार गौतम, नुवाकोटका सन्देश गजुरेल, कञ्चनपुरका निशान्त बुढायर, काठमाडौंका सत्यम पाठक, मकवानपुरका विजय स्याङ्तान, झापाका गिरीश रत्न शाक्य, पोखराका दर्पण सिंह गिरी, अमेरिका निवासी आशिष गिरीलगायत विभिन्न स्थानका प्रतिस्पर्धी उपाधिका लागि भिड्दैछन् ।

आयोजक संस्थाकी प्रवन्ध निर्देशक यत्ना पाण्डेका अनुसार प्रतियोगीहरूले स्विमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जनौँ प्रशिक्षण पूरा गरिसकेका छन् ।

यस संस्करणमा ‘मिष्टर वर्ल्ड नेपाल’, ‘मिष्टर ग्लोबल नेपाल’ र ‘म्यान अफ द वर्ल्ड नेपाल’ गरी तीन विजेता घोषणा गरिनेछन् । विजेताले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसरका साथै ५ लाख रुपैयाँ बराबरको पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको कोरियोग्राफी तथा मेन्टोरसिप प्रशान्त ताम्राकारले सम्हाल्नेछन् । सन् २००१ देखि नियमित आयोजना हुँदै आएको ‘मिष्टर नेपाल’ प्रतियोगिता पुरुषहरू सहभागी हुने नेपालकै प्रतिष्ठित प्रतियोगितामध्ये एक मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्