
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रवादी, गणतन्त्रवादी र परिवर्तनप्रेमी शक्तिबीच दृढ एकता अपरिहार्य रहेको बताएका छन् । संविधान दिवसको अवसरमा शुक्रबार शुभकामना व्यक्त गर्दै उनले लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हुने उल्लेख गर्दै संविधान र लोकतन्त्रको संरक्षणमार्फत राष्ट्रको स्वतन्त्रता सुरक्षित गर्नु सबै नेपालीको साझा जिम्मेवारी भएको स्पष्ट पारे ।
उनले भर्खरै सम्पन्न जेनजी आन्दोलनले संविधानको निरन्तरतामा थप सुधार र परिमार्जन आवश्यक रहेको सन्देश दिएको बताए । वर्तमान अवस्थामा देशव्यापी पुनर्निर्माणलाई उच्च प्राथमिकताका साथ अघि बढाउन सम्पूर्ण पार्टी पंक्ति र आम नागरिकलाई आह्वान समेत गरे । साथै, भदौ २३ र २४ गतेका घटनाबारे स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कानूनी कारबाहीमा ल्याउन माओवादीले सरकारसँग माग गरेको उनले स्पष्ट पारे ।
अध्यक्ष प्रचण्डले भने, “मलाई विश्वास छ, जेनजी आन्दोलन लोकतन्त्रविरोधी होइन, बरु यथास्थिति र तदर्थवादी शासन प्रणालीको विरोधी र उन्नत लोकतन्त्रको पक्षधर हो । तर, २३ र २४ भदौका आन्दोलनलाई एउटै दृष्टिकोणबाट मूल्यांकन गर्न सकिँदैन । भदौ २३ को आन्दोलन वास्तविक जेनजी आन्दोलन थियो ।”





