
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा नभएको वर्तमान अवस्थामा संसद्को जिम्मेवारी र संवैधानिक दायित्व निर्वाह गर्न राष्ट्रियसभा निरन्तर सक्रिय रहने बताएका छन् ।
संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गरे । उनले संविधान कार्यान्वयन, आन्दोलनमार्फत प्राप्त उपलब्धिहरूको संरक्षण र त्यसको पूर्ण पालनामा सबैलाई लाग्न आग्रह गरे ।
अध्यक्ष दाहालले जेनजी पुस्ताको आन्दोलनले ल्याएको परिवर्तनलाई स्मरण गर्दै तोकिएको समयमा निर्वाचन सम्पन्न गरी देशलाई पुनः जननिर्वाचित प्रतिनिधिहरूकै नेतृत्वमा संविधानको संरक्षण गर्ने चुनौती रहेको उल्लेख गरे ।
उनले शुभकामना सन्देशमार्फत जीवन अर्पण गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते तथा अपाङ्गता भएका व्यक्तिप्रति उच्च सम्मान व्यक्त गरेका छन् । विसं २०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको स्मरण गर्दै उनले सो दिनलाई हरेक वर्ष संविधान दिवसका रूपमा गौरवपूर्वक मनाइँदै आएको बताए ।





