
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा एक किसानले पालेको गाईको बाच्छीमा लम्पी स्किन रोगको सङ्क्रमण पुष्टि भएको छ।
गाईको बाच्छीमा रोगका लक्षण देखिएपछि पशु रोग अन्वेषण प्रयोगशाला धनगढीका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीको टोलीले नमुना सङ्कलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाएको थियो। पिसिआर परीक्षणबाट सङ्क्रमण पुष्टि भएको जोशीले जानकारी दिए।
उनका अनुसार सुदूरपश्चिम प्रदेशमा करिब दुई वर्षअघि लम्पी स्किन देखिएपछी पहिलोपटक पुनः सङ्क्रमण भेटिएको हो। हालसम्म एउटा मात्र गाईको बाच्छीमा रोग देखिएको भए पनि अन्य गाईभैँसीमा भने लक्षण नदेखिएको उनले बताए।
“रोग कुन बाटोबाट फैलियो भन्नेबारे अनुसन्धान भइरहेको छ,” वरिष्ठ चिकित्सक जोशीले भने, “गत वर्षको अन्त्यतिर देखिएको वेभको पुनरावृत्ति यो प्रदेशमा पहिलोपटक देखिएको हो।” उनका अनुसार विसं २०८० मा देशभर झन्डै १३ लाख पशु संक्रमित हुँदा करिब ५० हजार पशुको मृत्यु भएको थियो।
प्रदेशमा न्यून मात्र खोप लगाइएको र वर्षायाम चलिरहेकाले रोग फैलिने जोखिम उच्च रहेको जोशीले चेतावनी दिए। “लम्पी स्किनविरुद्ध खोप नै प्रभावकारी उपाय हो तर मौज्दात नभएकाले रोगले फेरि विकराल रूप लिन सक्ने खतरा छ,” उनले भने।
उनका अनुसार संक्रमित पशुलाई तुरुन्त अलग राख्ने, गोठ वरिपरि सरसफाइमा ध्यान दिने, कीरा र लामखुट्टेजस्ता रोग सार्ने वाहक नियन्त्रण गर्ने र गोठमा पस्दा आवश्यक सावधानी अपनाउने अनिवार्य हुन्छ।
यो रोग लागेपछि गाईभैँसीमा शरीरभरि गाँठा उठ्ने, मुख–नाक वरिपरि फोका देखिने, १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउने, दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, कचेरा तथा फिँज बढी निकाल्ने, लिम्फ नोड सुन्निनेजस्ता लक्षण देखिने जोशीले जानकारी दिए।
शुक्लाफाँटा नगरपालिकाको पशु विकास शाखाका प्रमुख रामप्रसाद भट्टले चार वर्षअघि वडा नं. १२ कालागौंडीमा पनि यो रोग देखिएको स्मरण गराउँदै अहिले वडा नं. ९ सिसैयामा पुनः पुष्टि भएको बताए। “सङ्क्रमित गाईलाई अन्य पशुसँग नबाँध्न किसानलाई सचेत गराएका छौँ,” उनले भने, “सचेतना फैलाउने काम भइरहेको छ।”





