
म्याग्दी । दसैँ समीपिँदै जाँदा हिमाली भेडा–च्याङ्ग्रा बजार झर्न थालेका छन् । मुस्ताङ, जुम्ला र डोल्पाका किसान तथा व्यापारीहरूले च्याङ्ग्राको बथान लिएर पोखरा, काठमाडौं, चितवन, बुटवललगायत ठूला शहरतर्फ पठाउन सुरु गरेका हुन् ।
मुस्ताङको लोमान्थाङ, डोल्पा र जुम्लाबाट पैदलै झारिएका च्याङ्ग्रा म्याग्दीको बैसरीसम्म ल्याइएपछि ट्रक र कन्टेनरमार्फत सहरमा ढुवानी भइरहेको छ । नेपाल चौपाया खरिद–बिक्री संघका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठका अनुसार बिहीबारसम्म १,३०० भेडा–च्याङ्ग्रा काठमाडौं पठाइसकिएको छ भने थप १,७०० पठाउने तयारी भइरहेको छ ।
श्रेष्ठका अनुसार यस वर्ष तातोपानी र रसुवा नाका बन्द भएकाले ठूला शहरतर्फ प्रायः मुस्ताङी च्याङ्ग्रा मात्र आपूर्ति हुँदैछ । उनले मुस्ताङको नामग्यालबाट ४६५ च्याङ्ग्रा पैदलै ल्याएको जानकारी दिए । त्यस्तै, डोल्पाको सहरताराका सञ्जय बुढाले २५ दिनको यात्रा गरेर १६० च्याङ्ग्रा बेच्न पोखरा हिँडेका छन् ।
जोमसोममा भेडा–च्याङ्ग्राको चहलपहल बढेसँगै स्थानीय बजारमा आकारअनुसार प्रतिगोटा रु ३२ देखि ३७ हजारमा बिक्री भइरहेको छ । काठमाडौं पुगेपछि भने जिउँदो च्याङ्ग्रा प्रतिकिलो रु १,३०० मा बिक्री हुने अनुमान व्यवसायीहरूले गरेका छन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले यस वर्ष मुस्ताङका किसानले पालेका १२ हजार र डोल्पा–जुम्लाका तीन हजार भेडा–च्याङ्ग्रा बजारमा आउने अनुमान गरेको छ । केन्द्रका प्रमुख पशु चिकित्सक लालमणि अर्यालका अनुसार स्वास्थ्य परीक्षणपछि मात्रै बजार पठाउने व्यवस्था मिलाइएको छ ।
हिमाली क्षेत्रका च्याङ्ग्राको मासु पर्वमा विशेष माग हुने गर्छ । जडीबुटीयुक्त बुकीमा चरिएका पाँच वर्ष उमेरका च्याङ्ग्रा मासुका लागि बढी उपयुक्त मानिन्छन् । मुस्ताङका किसान तेन्जिङ गुरुङले यसपालि ५० वटा च्याङ्ग्रा बिक्री गरेको बताए ।
मुस्ताङका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङमा करीब ५० हजार भेडा–च्याङ्ग्रा पालिएको अनुमान छ । च्याङ्ग्रापालन उपल्लो मुस्ताङका किसानको प्रमुख आयस्रोत हो, जसबाट प्राप्त भुवा (पश्मिना) अन्तर्राष्ट्रिय बजारमा महत्त्वपूर्ण कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ ।
तर, किसानका लागि हिउँचितुवा र ब्वाँसोको आक्रमण, पर्याप्त हिउँ नपर्दा घाँसको कमी तथा हिउँदमा अत्यधिक हिमपातका कारण आहारको अभावजस्ता चुनौती भने अझै कायम छन् ।





