
झापा । जेनजी आन्दोलनका कारण बजार र यातायात अवरुद्ध भएपछि झापाका व्यावसायिक केरा किसान ठूलो संकटमा परेका छन् । समयमै बिक्री गर्न नसक्दा पाकेका केरा बगानमै नष्ट भएको किसानहरूको गुनासो छ ।
भद्रपुर र गौरीगञ्जमा करिब ८० बिघा क्षेत्रफलमा केरा खेती गर्दै आएका श्रीगणपति एग्रिकल्चर प्रालिका सञ्चालक प्रेम खड्काले २५ देखि ३० लाख रुपैयाँ बराबरको उत्पादन बगानमै खेर गएको बताए । “बजारमा लैजाने तयारी हुँदै थियो, तर बन्द सुरु भइहाल्यो,” उनले भने, “उत्पादन बजार पुर्याउन नसक्दा सबै नष्ट भयो ।”
उनका अनुसार यसपालि उत्पादन राम्रै भए पनि आन्दोलन, मनसुनी वर्षा र बजारको अन्योलका कारण ठूलो परिमाणमा केरा नष्ट हुने जोखिम बढेको छ । सामान्यतया यहाँ उत्पादित केरा काठमाडौं, विराटनगर, पोखरा, वीरगञ्ज, नेपालगञ्ज, धरान, इलामलगायतका सहरमा आपूर्ति गरिँदै आएको छ । किसानले प्रतिघरी (एउटा बोट) रु ५००–६०० सम्ममा बिक्री गर्ने गरेका छन् । तर भारतबाट सस्तो मूल्यमा आउने केराले स्वदेशी उत्पादनलाई थप चुनौती दिएको किसानहरूको गुनासो छ ।
कनकाई–३ र शिवसताक्षी–७ मा ७० बिघा क्षेत्रफलमा चिनीचम्पा र मद्रासी जातका केरा उत्पादन गर्दै आएकी बेनु पराजुलीले गत वैशाखमा हावाहुरीले पुर्याएको क्षति नथाक्दै, अहिले बन्दका कारण करिब २०० घरी पाकेको केरा बगानमै नष्ट भएको बताइन् । “वैशाखमा आधा बगान हावाहुरीले नष्ट गर्यो, अहिले बजार र यातायात बन्दले फेरि क्षति भयो,” उनले भनिन्, “कोल्ड स्टोर नभएकाले तत्कालै बजार पु¥याउन नसक्दा उत्पादन खेर गइरहेको छ । अब दसैँमा नयाँ उत्पादन बिक्री गर्ने तयारीमा छौँ ।”
त्यस्तै, झापा गाउँपालिका–३, ४, ६ र ७ मा ३० बिघा क्षेत्रफलमा खेती गर्दै आएका चन्द्र बस्नेतले पनि जेनजी आन्दोलनका क्रममा करिब १० लाख रुपैयाँ बराबरको क्षति बेहोरेको बताए । उनका अनुसार प्रदर्शनकारीले बगानमै पसेर पाकेका केरा काटेर नष्ट गरिदिएका थिए ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार जिल्लामा करिब १,९०० हेक्टर क्षेत्रमा व्यावसायिक केराखेती भइरहेको छ । वार्षिक ३८ हजार ८३३ मेट्रिक टन उत्पादन हुने गरेको उनले जानकारी दिए ।





