मकवानपुरमा खोरेत रोग नियन्त्रणमा |



मकवानपुर । मकवानपुरका विभिन्न स्थानीय तहमा पशुचौपायामा फैलिएको खोरेत रोग नियन्त्रणमा आएको छ ।

पशु सेवा कार्यालय मकवानपुरले भदौ पहिलो साताबाट खोरेतविरुद्ध खोप अभियान सञ्चालन गरेपछि रोग नियन्त्रणमा आएको हो । “खोरेत रोगले धमाधम पशु मर्न थालेपछि खोप अभियान सुरु गरेका थियौँ, अहिले रोग नियन्त्रणमा आइसकेको छ,” पशु सेवा कार्यालय हेटौँडाका प्रमुख डा. बृजकिशोर ठाकुरले जानकारी दिए ।

जिल्लाका १० वटै पालिकामा खोप अभियान सञ्चालन गरी हालसम्म करिब पाँच हजार पशुमा खोप लगाइएको उनले बताए । हेटौँडा उपमहानगरपालिकामा मात्र २३ हजार पशुमा खोप लगाइएको छ । त्यस्तै मकवानपुरगढी गाउँपालिकामा ६ हजार ८७५, बागमती गाउँपालिकामा ४ हजार ७ सय, बकैयामा ३ हजार ५ सय, मनहरीमा ३ हजार १ सय, इन्द्रसरोबरमा १ हजार ४८८, थाहामा १ हजार ४४५, भिमफेदीमा १ हजार ५, राक्सिराङमा ५ सय र कैलाश गाउँपालिकामा ३० पशुमा खोप लगाइएको छ ।

पशु सेवा कार्यालयका पशु चिकित्सक डा. विजय पौडेलका अनुसार खोरेत रोग १० पालिकामध्ये ९ पालिकामा फैलिएको थियो । यस क्रममा २ हजार ३३९ पशु प्रभावित भए पनि १०१ पशुचौपायाको मृत्यु भएको छ । सबैभन्दा बढी हेटौँडामा ४१ पशु मरेका छन् । उनका अनुसार भ्याक्सिनेटरहरूले कृषक समूह, सहकारी, व्यक्तिगत फर्म तथा घरदैलोमै पुगेर खोप अभियान सञ्चालन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्