शुक्लाफाँटामा वन्यजन्तु नियन्त्रणका लागि स्वचालित बत्ती जडान



कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ मा बस्तीमा प्रवेश गर्ने वन्यजन्तु नियन्त्रण गर्न ५८ वटा स्वचालित (सेन्सरयुक्त) बत्ती जडान गरिएको छ । यसले स्थानीयवासीको बालीनाली तथा जीउधन जोगाउन महत्वपूर्ण योगदान गरेको छ ।

तराई भू–परिधि तथा संरक्षण कार्यक्रमअन्तर्गत सुनदेवी उपभोक्ता समितिले २९ वटा पोलमार्फत निकुञ्ज नजिकका बस्तीमा बत्ती जडान गरेको हो । समितिका अध्यक्ष भरतबहादुर विष्टका अनुसार बत्तीको प्रकाशले जनावर टाढैबाट देख्न सकिने भएकाले नियन्त्रणमा सहज भएको छ ।

“यो पहलले बालीनाली मात्र सुरक्षित भएको छैन, हात्ती, बँदेल, नीलगाई र चितलजस्ता जनावर भगाउन पनि सहयोग पुगेको छ । यसले मानवीय क्षति न्यूनीकरणमा समेत मद्दत पुर्‍याएको छ,” विष्टले बताए । समितिले बत्तीको साथै करिब तीन किलोमिटर क्षेत्रमा मेसवायर पनि जडान गरेको छ ।

वडाध्यक्ष प्रतापसिंह धामीका अनुसार स्वचालित बत्ती र मेसवायर दुवै उपायले जनावर नियन्त्रणमा प्रभावकारी काम गरेको छ । “अघिसम्म हात्तीले मेसवायर तोडेर बस्तीमा पसेर घरमै क्षति पुर्‍याउँथ्यो, तर अहिले बत्तीको कारण टाढैबाट देखिने भएकाले सचेत भएर जीउधन जोगाउन सकिन्छ,” उनले भने ।

समितिले आगामी आर्थिक वर्षमा थप स्वचालित बत्ती जडान गर्ने प्रस्ताव पनि पेस गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्