नेपाल फुटबल खेलाडी संघको साधारण सभाले विधान पास, नयाँ सदस्यता खुला



काठमाडौं। नेपाल फुटबल खेलाडी संघको वार्षिक साधारण सभाले संघको विधान पारित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न सभाले नयाँ वैधानिक व्यवस्था अनुमोदन गरेको हो।

संघका अध्यक्ष विक्रम लामाका अनुसार नयाँ विधानअनुसार ४५ वर्षमुनिका खेलाडी मात्र साधारण सदस्य बन्न सक्नेछन्। त्यस्तै, व्यवसायिक रूपमा प्रशिक्षणमा संलग्न खेलाडीले भने सदस्यता पाउने छैनन्। विधानमा ए, बी र सी डिभिजनका खेलाडीलाई पनि संघको केन्द्रीय परिषद्मा मनोनयन गर्न सकिने व्यवस्था गरिएको छ। यसअघि भने केवल सिनियर र जुनियर राष्ट्रिय खेलाडीलाई मात्र सदस्यता लिन पाउने प्रावधान थियो। अबदेखि सबै खाले फुटबल खेलाडीले सदस्यता लिन पाउनेछन्। संघले एक महिनाभित्र नयाँ सदस्यता फारम भर्न आह्वान गरेको छ।

साधारण सभाले रिक्त पदाधिकारी र सदस्य पदमा मनोनयन पनि गरेको छ। सभाले अन्जना राना मगरलाई उपाध्यक्ष, अनन्त तामाङलाई महासचिव तथा रुपेश केसी, एरिक विष्ट र अन्जन विष्टलाई सदस्य पदमा चयन गरेको छ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष उपेन्द्रमान सिंह र राजेश मानन्धरलाई सम्मान गरिएको छ। उद्घाटन सत्रमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ र खेलाडी संघका अध्यक्ष लामाले उनीहरुलाई सम्मान गरेका हुन्।

नेम्वाङले खेलाडी संघलाई चलायमान र खेलाडीका हकहितमा क्रियाशील रहेको भन्दै प्रशंसा गरे। पूर्वअध्यक्ष सिंहले खेलाडीको अधिकारका लागि संघले गरेको दबाब र प्रयासलाई सकारात्मक कदम भएको उल्लेख गरे। अध्यक्ष लामाले पनि खेलाडीका समस्याको समाधानमा संघ निरन्तर सक्रिय रहने वाचा गरे।

संघ एन्फाको सदस्य संस्था हो। यसअघि संघको निर्वाचन २०७९ सालमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्