कांग्रेस उपसभापति गुरुङले पार्टी कार्यालय पुनर्निर्माण अभियानको घोषणा



काठमाडौं, असोज २ । भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षति पुगेको नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपाको अवलोकन गर्न उपसभापति धनराज गुरुङ बिहीबार सानेपा पुगेका छन् ।

कार्यालयको अवलोकनपछि पत्रकारसँग कुरा गर्दै गुरुङले पार्टी कार्यालयलाई सबै कार्यकर्ताको अपनत्व हुने गरी पुनर्निर्माण गर्ने योजना अघि सारे । उनले देशभरका नेता तथा कार्यकर्ताबाट कम्तीमा १० रुपैयाँ संकलन अभियान सुरु गर्ने प्रस्ताव गरेका छन् । इच्छुकले बढी रकम सहयोग गर्न सक्ने व्यवस्था पनि रहने उनको भनाइ थियो ।

“सबै मिलेर अघि बढ्यौं भने पार्टीको केन्द्रीय कार्यालय पनि पुनर्निर्माण हुन्छ, र सबैले आफ्नो ठानेर सघाउँछन्,” गुरुङले भने ।

यस अवसरमा उनले पार्टीलाई अगाडि लैजाने विषयमा महाधिवेशन प्रतिनिधि र महासमितिले दिएको सुझावअनुसार अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । साथै, २०४६ सालयता लाभका पदमा पुगेका नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गर्न सकेको भए आजको अवस्था नहुने दाबी गर्दै उनले पार्टीभित्र सुधार र पारदर्शिताको आवश्यकता पनि जोड दिए ।

प्रतिक्रिया दिनुहोस्