
काठमाडौं । नेपालमै पहिलो पटक टेनिस बल टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपिएल) का लागि भएको ट्रायल सम्पन्न भएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा सम्पन्न ट्रायलमार्फत देशभरका खेलाडी छनोट गरिएको हो।

अन्तिम ट्रायल मंगलबार काठमाडौंको महालक्ष्मी स्पोर्ट्स हबमा सम्पन्न भएको थियो। करिब १,५०० भन्दा बढी खेलाडी सहभागी भएको ट्रायलबाट २५० जना खेलाडी अक्सनका लागि छनोट गरिने आयोजकले जानकारी दिएको छ।
आगामी प्रतियोगितामा सात टिम सहभागी हुनेछन्। प्रतियोगिता अन्तर्गत कुल २५ खेल हुनेछन् भने लिग चरण सिंगल राउन्ड रोबिन प्रणालीमा सम्पन्न हुनेछ। शीर्ष चार टोलीले सेमिफाइनल खेल्ने र विजेता टिमले २१ लाख रुपैयाँ तथा उपविजेताले ११ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रतियोगिता अध्यक्ष ज्ञानी सिंहले एनएसपिएलले उदीयमान प्रतिभालाई बलियो प्लेटफर्म प्रदान गर्ने र ग्रासरुट क्रिकेटलाई मजबुत बनाउन सहयोग पुग्ने बताए। “यो प्रतियोगिताले स्थानीय खेलाडीलाई अवसर मात्र होइन, प्रेरणा पनि दिनेछ,” उनले भने।
सुरुवाती योजना अनुसार प्रतियोगिता असोज २१ देखि ३१ गतेसम्म हुने तय भए पनि भदौ २३–२४ का जेनजी आन्दोलन र देश शोकमग्न अवस्थालाई मध्यनजर गर्दै प्रतियोगिता स्थगित गरिएको आयोजकले जनाएको छ। नयाँ मिति छिट्टै सार्वजनिक गरिने छ।





