
बागलुङ । “यति ठूलो जग्गाजमिन बाँझो छ, गाउँभरिका घरहरू खाली छन्, समस्या पर्दा सहयोग गर्ने छिमेकीसमेत छैनन्”, काठेखोला गाउँपालिका–५ कर्लिमका तिलबहादुर कँडेल पीडा पोख्छन् । गाउँ सुनसान हुँदै जाँदा उनलाई अचेल झन् बढी एक्लोपनले घेरेको छ ।
कधी गुलजार रहेको कर्लिम अहिले विरानैजस्तै बनेको छ । गाउँमा अब थोरै घरमा मात्रै मानिस बसोबास गर्छन् । छरछिमेकी सबै बसाइँसराइ गरेर शहर झरेपछि समस्या पर्दा गुहार माग्न कोही नभएको कँडेल बताउँछन् । “बिमार हुँदा अस्पतालसम्म पुर्याउने मान्छेसमेत छैनन् । गाउँ झाडीले ढाकिँदै जाँदा वन्यजन्तुको आतङ्क बढेको छ । घरकै छेउमा बास बस्ने बाघभालु देख्दा हिँडडुल गर्न डर लाग्छ”, उनी भन्छन् ।
स्थानीय मैना सुवेदीका अनुसार गाउँमा युवाशक्ति नहुँदा खेतीपाती पनि रोकिएको छ । एक दशकअघि मान्छेले भरिएको रमाइलो गाउँ अहिले हरेक वर्ष सुनसान बन्दै गएको उनको स्मरण छ । “अब त दुःखसुखमा समेत साथ दिने मान्छे भेटिँदैन”, उनी भन्छिन् ।
उनी राज्यले बसाइँसराइलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिन्छिन् । “गाउँतिर निस्किने बाटोसमेत वनमारा र झाडीले ढाकिएको छ । युवाहरू विदेश गए, कमाएको पैसाले सहरमा घर बनाएर परिवार बसालेर लगे । धनीमानी सबै सहर र विदेशतिर लागे । गाउँतिर भने बाँझो जमिन र उराठिलो बस्ती मात्रै देखिन्छ”, सुवेदी भन्छिन् ।
काठेखोलाको कर्लिम मात्र होइन, बागलुङका धेरै गाउँमा यस्तै अवस्था छ । यहाँका धेरै युवा जापान, कोरिया, अस्ट्रेलिया जस्ता मुलुकमा छन् भने उनीहरूको परिवार बागलुङ बजार, पोखरा, काठमाडौं र चितवनमा बसाइँ सरेका छन् ।
काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा भन्छन्, “नागरिकलाई गाउँमै टिकाउन सीप, प्रविधि र उद्यमसँग जोड्ने कार्यक्रम ल्याएका छौँ । अनुदानसहित प्राविधिक सहयोग दिँदै आएका छौँ । तर बसाइँसराइ रोक्न भने सजिलो छैन ।”
उनका अनुसार गाउँमा अवसर सिर्जना गर्न सबै सरोकारवालाले हातेमालो गर्नुपर्ने आवश्यकता छ । “गाउँमा बसेर उद्यम गर्न चाहनेलाई गाउँपालिकाले सकेको सहयोग गर्दै आएको छ । अब सबै मिलेर गाउँलाई बाँचाउनेतर्फ लाग्नुपर्छ,” अध्यक्ष थापाले जोड दिए ।





